काठमाडौं — काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायातको सेवा रातिको समयमा समेत विस्तार गर्नुपर्ने बताएकी छन् । उनले रात्रिकालीन बस सेवा विस्तारसँगै काठमाडौं उपत्यका रातिसमेत चलायमान बन्ने बताइन् ।
ललितपुरमा आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा डंगोलले स्थानीय सरकारको महत्वपूर्ण दायित्वमध्ये यातायात सेवाको विस्तार पनि रहेको उल्लेख गरिन् । यातायात सेवा दिउँसोमा मात्र सीमित नराखी रातिसमेत सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।
“स्थानीय सरकारको मूल दायित्वहरू जे–जे छन्, त्यसमध्ये एउटा महत्वपूर्ण दायित्व स्थानीय यातायातको विस्तार गर्नु पनि हो । त्यो पनि दिउँसो मात्रै होइन, अब राति पनि हाम्रा यातायात चल्छन्,” उनले भनिन्, “काठमाडौं उपत्यका दिउँसो मात्र चलायमान छैन, अब राति पनि चलायमान हुन्छ ।”
डंगोलका अनुसार गत वैशाख १ गतेदेखि परीक्षणका रूपमा बूढानीलकण्ठ–ललितपुरको लगनखेल र विमानस्थल–चन्द्रागिरि रुटमा रात्रिकालीन बस सेवा सञ्चालन गरिएको थियो । परीक्षणका क्रममा पहिलो ९० दिनमै ६७ हजार यात्रुले रात्रिकालीन बस सेवा उपयोग गरेको उनले जानकारी दिइन् ।
उनले सार्वजनिक यातायातलाई मानिसको आवतजावत गर्ने साधनका रूपमा मात्र नहेरी अवसर र पहुँच विस्तार गर्ने माध्यमका रूपमा बुझ्नुपर्ने बताइन् । रात्रिकालीन सार्वजनिक यातायातको विस्तारले रातको समयमा काम गर्ने, अध्ययन गर्ने तथा विभिन्न सेवामा संलग्न नागरिकको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ ।



