काठमाडौंमा आइपुगे भारतीय विदेश सचिव मिश्री, आजै प्रधानमन्त्री बालेनसँग र उच्चस्तरीय भेट गर्ने

काठमाडौं – भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका सिलसिलामा नेपाल आएका मिश्रीले आजैदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्ने भएका छन् ।

मिश्री केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनको भ्रमणलाई प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीसँग जोडेर हेरिएको छ । नेपाल र भारत दुवै पक्षबाट औपचारिक भेटघाटको विस्तृत तालिका सार्वजनिक नभए पनि उनले आजै विभिन्न उच्चपदस्थ अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

भ्रमणका क्रममा मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने तयारी छ । स्रोतका अनुसार प्रधानमन्त्रीसँगको भेट आजकै कार्यतालिकामा राखिएको छ । कार्यव्यस्तताका कारण आज सम्भव नभए भोलि भेट हुन सक्ने बताइएको छ ।

त्यस्तै, मिश्रीले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग पनि शिष्टाचार भेट गर्ने तयारी गरेका छन् । यी भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षसँगै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको तयारीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

काठमाडौंमा भेटघाट सकेर भारतीय विदेश सचिव मिश्री भोलि कात्तिक १९ गते अपराह्न स्वदेश फर्किने कार्यक्रम छ । उनको भ्रमण छोटो भए पनि नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको मिति र त्यसको तयारीका दृष्टिले यसलाई महत्त्वका साथ हेरिएको छ ।