तेह्रथुम – ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मन्दिरमा यस वर्षकै सबैभन्दा धेरै भक्तजनले एकै दिन दर्शन गरेका छन् । मौसम अनुकूल भएसँगै पाथीभरा पुग्ने दर्शनार्थीको सङ्ख्या तीव्र रूपमा बढेको हो । पाथीभरा क्षेत्र विकास समितिका अनुसार मंगलबार मात्रै १० हजार ६१६ जनाले मन्दिरमा पुगेर दर्शन गरेका छन् ।
केही दिनअघिसम्म भक्तजनको आवागमन न्यून रहेको पाथीभरा क्षेत्रमा अहिले ठूलो भीड देखिन थालेको छ । आइतबार ६४० जनाले दर्शन गरेकामा सोमबार यो सङ्ख्या बढेर ३ हजार ५९० पुगेको थियो । मंगलबार भने अघिल्ला दिनको तुलनामा निकै ठूलो सङ्ख्यामा भक्तजन मन्दिर पुगेका हुन् । यस वर्ष एकै दिन दर्शन गर्ने भक्तजनको सङ्ख्यामा यो नयाँ रेकर्ड भएको समितिले जनाएको छ ।
नवरात्र सुरु भए पनि प्रारम्भिक दिनमा दर्शनार्थीको चाप अपेक्षाकृत कम थियो । अस्त शुक्रलगायत ज्योतिषीय कारण र वर्षाको सम्भावनाले भक्तजनको यात्रा प्रभावित भएको थियो । पछिल्लो समय मौसम खुलेपछि भने देशका विभिन्न जिल्लाबाट पाथीभरा जाने क्रम बढेको छ । छिमेकी मुलुक भारतबाट समेत भक्तजन दर्शनका लागि पुगिरहेका छन् ।
पाथीभरा पुग्ने भक्तजनको यात्रा भने सहज छैन । समुद्री सतहबाट करिब ३ हजार ७९४ मिटर उचाइमा रहेको मन्दिरसम्म पुग्न घण्टौँ उकालो पैदल हिँड्नुपर्छ । लामो दूरीबाट आउने दर्शनार्थी प्रायः पहिलो दिन काफ्लेपाटी वा ठूलोफेदीमा बास बस्छन् । त्यसपछि मध्यरात वा बिहान सबेरै यात्रा सुरु गर्छन् । अधिकांश दर्शनार्थी राति १ देखि २ बजेको बीचमा मन्दिरतर्फ लाग्ने गरेका छन् ।
तल्लोफेदीसम्म सवारीसाधनमा पुगेपछि पैदल यात्रा सुरु हुन्छ । त्यहाँबाट ठूलोफेदी पुग्न करिब एक घण्टा उकालो हिँड्नुपर्छ भने ठूलोफेदीबाट कान्छीथान हुँदै मन्दिर पुग्न थप दुईदेखि तीन घण्टा लाग्छ । चिसो मौसम र अप्ठ्यारो बाटोका कारण यात्रा चुनौतीपूर्ण भए पनि धार्मिक आस्था र मनोकामना पूरा हुने विश्वासले भक्तजनलाई गन्तव्यसम्म पुर्याउने गरेको छ ।
तेह्रथुमबाट पाथीभरा दर्शन गर्न पुगेका डिकेन कार्कीले पनि राति २ बजेदेखि पैदल यात्रा सुरु गरेका थिए । लामो समयदेखिको दर्शन गर्ने इच्छा पूरा गर्न कठिन बाटो पार गरेको बताउँदै उनले देवीप्रतिको विश्वासले यात्रामा उत्साह थपेको सुनाए । ‘राति २ बजेदेखि हिँडेर दर्शन गर्न आएको हुँ । देवीप्रति विश्वास छ, आफूले सोचेको र मागेको कुरा पूरा हुन्छ भन्ने आशा छ,’ उनले भने ।
मन्दिरका पुजारीका अनुसार नवरात्रको समयमा राति १ बजेदेखि दिउँसो २ बजेसम्म दर्शनार्थीको चाप बढी हुने गरेको छ । भक्तजनको सहजताका लागि पदमार्गका विभिन्न स्थानमा विश्राम गर्ने र बास बस्ने व्यवस्था मिलाइएको छ । उकालो बाटोमा हिँड्न नसक्ने ज्येष्ठ नागरिक, अशक्त तथा बालबालिकासहितका परिवारलाई सहयोग गर्न भरियासमेत उपलब्ध हुने गरेका छन् । उनीहरूले यात्रुका सामान बोक्नुका साथै आवश्यक सहयोग पुर्याउँदै आएका छन् ।
भक्तजनको सङ्ख्या बढेपछि पाथीभरा क्षेत्रका होटल तथा आवासस्थलमा पनि चाप बढेको छ । फुङलिङ बजारदेखि सुकेटार, काफ्लेपाटी, तल्लोफेदी र माथिल्लोफेदीसम्मका होटलमा दर्शनार्थीको भीड लागेको छ । एकैपटक ठूलो सङ्ख्यामा यात्रु पुग्दा आवास र यातायात व्यवस्थापनमा समेत चाप परेको छ । मेची राजमार्ग र तमोर करिडोरमा सवारीसाधनको आवागमन बढेको ताप्लेजुङका पत्रकार कृष्ण फुरुम्बोले बताएका छन् ।
स्थानीय विक्रम लिम्बूका अनुसार पाथीभराप्रतिको धार्मिक विश्वासका कारण यहाँ आउने भक्तजनको सङ्ख्या वर्षेनी बढिरहेको छ । नेपालका विभिन्न भूभागबाट मात्र नभई भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् । धार्मिक महत्त्वसँगै हिमाली भूगोल र प्राकृतिक दृश्यले पनि पाथीभरा क्षेत्रलाई आकर्षक गन्तव्य बनाएको उनको भनाइ छ ।
पाथीभरा पुग्ने यात्राका क्रममा कञ्चनजङ्घा हिमशृङ्खलाको दृश्यावलोकन गर्न पाइने भएकाले धार्मिक यात्रासँगै प्राकृतिक सौन्दर्यको अनुभव लिन चाहनेहरू पनि यहाँ आकर्षित हुने गरेका छन् । नवरात्रमा विशेष चहलपहल हुने भए पनि अन्य चाडपर्व, सार्वजनिक बिदा र मौसम अनुकूल भएका समयमा पनि दर्शनार्थी पुग्ने गरेका छन् ।
पाथीभरामा बढ्दो भक्तजनको आगमनले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पारेको छ । होटल, पसल, यातायात र अन्य सेवामूलक व्यवसायमा गतिविधि बढेको छ । तर, एकै दिन हजारौँ दर्शनार्थी पुग्न थालेपछि पदमार्गको अवस्था, विश्रामस्थल, सरसफाइ, स्वास्थ्य सेवा र सुरक्षाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
विशेषगरी रातको समयमा कठिन उकालो बाटो हुँदै यात्रा गर्ने भक्तजनको सुरक्षामा ध्यान दिनु आवश्यक छ । दर्शनार्थीको बढ्दो चापलाई व्यवस्थित गर्न पूर्वाधार र सेवा सुविधाको विस्तार गर्न सके पाथीभरा धार्मिक आस्थाको केन्द्रसँगै पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा अझ स्थापित हुन सक्ने देखिन्छ ।



