पत्रकार पक्राउबारे सरकारको स्पष्टीकरण : प्रहरीको आन्तरिक सूचना चुहावटको अनुसन्धान मात्रै हाे

काठमाडौं – सरकारले समाचार कक्षभित्रै प्रवेश गरेर सञ्चारकर्मीमाथि गरिएको सोधपुछ तथा धरपकड प्रहरीको आन्तरिक अनुसन्धानका लागि मात्रै भएको स्पष्टीकरण दिएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरीको आन्तरिक सूचना चुहावट भएको विषयमा प्रकाशित समाचारको स्रोत र तथ्य बुझ्न प्रहरीले सोधपुछ गरेको दाबी गरेका छन् ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले प्रहरीका आन्तरिक सूचना बाहिरिएको भन्दै त्यसबारे प्रहरीले आफ्नै तवरबाट अनुसन्धान गरेको बताए । प्रधानमन्त्रीले प्रहरी महानिरीक्षकको राजीनामा मागेको वा कारबाही गर्न लागेको भन्ने भ्रामक सूचना कसरी बाहिरियो भन्ने विषयमा तथ्य बुझ्न प्रहरीले जाँचबुझ गरेको उनको भनाइ थियो ।

‘प्रहरीको आन्तरिक कतिपय सूचना चुहावट भएको भनी उदाहरणका लागि प्रधानमन्त्रीले आईजीपीको राजीनामा माग्यो वा कारबाही गर्न लाग्यो भन्ने हुँदै नभएको भ्रामक सूचना कहाँबाट आयो, त्यसको तथ्यजाँच नगरी कसरी भयो भनेर प्रहरीले जाँचबुझ गर्नका लागि मात्रै कसैसँग सल्लाह गरेको भन्ने प्रहरीको आन्तरिक कुरा मात्रै हो,’ पोखरेलले भने ।

उनले समाचार कक्षमा प्रहरी प्रवेश गरेर सोधपुछ गर्ने कार्य सरकारको पूर्ण अनुमति लिएर नभएको पनि स्पष्ट पारे । उक्त घटनाबारे सरकार वा प्रधानमन्त्रीलाई पूर्वजानकारी नरहेको दाबी गर्दै उनले प्रहरी आफैँले आन्तरिक सूचना चुहावट भएको विषयमा सोधपुछ गरेको बताए ।

‘सरकारसँग पूर्ण अनुमति लिएर वा के गरेर गरेको होइन । त्यसमा सरकार वा प्रधानमन्त्रीज्यूलाई केही थाहा थिएन । प्रहरीले आफ्नो आन्तरिक सूचना चुहावट भएको भएर सोधपुछका लागि गरेको हो,’ उनले भने ।

प्रवक्ता पोखरेलका अनुसार घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रधानमन्त्रीले पत्रकारलाई सोधपुछका नाममा हिरासतमा नराख्न निर्देशन दिएका थिए । उनले कुनै पनि पत्रकारलाई गिरफ्तार वा नियन्त्रणमा नलिइएको दाबीसमेत गरे ।

‘कसैलाई गिरफ्तार गरेको वा नियन्त्रणमा लिएको भने होइन,’ पोखरेलले भने ।

सरकारले घटनालाई प्रहरीको आन्तरिक सूचना चुहावटसम्बन्धी अनुसन्धानका रूपमा व्याख्या गरे पनि समाचार कक्षभित्रै प्रहरी प्रवेश गरेर गरिएको सोधपुछ र त्यसको औचित्यबारे उठेका प्रश्नमा भने प्रवक्ताले प्रहरीको आन्तरिक अनुसन्धानलाई नै आधार बनाएका छन् ।