भक्तपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई नियन्त्रणमा लिएपछि नगरपालिकाको दैनिक प्रशासनिक कामकाज प्रभावित हुने भएको छ । स्थानीय तहको प्रशासनिक नेतृत्व सम्हाल्ने प्रमुख प्रशासकीय अधिकृत नै अनुसन्धानका लागि नियन्त्रणमा परेपछि केही दिन नगरपालिकाको सेवा प्रवाह र प्रशासनिक निर्णय प्रक्रियामा समस्या आउन सक्ने देखिएको हो ।
नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले भने प्रमुख प्रशासकीय अधिकृत नियन्त्रणमा परेको घटनाले लामो समयसम्म नगरपालिकाको कामकाज प्रभावित नहुने बताएका छन् । आवश्यक प्रशासनिक व्यवस्थापन मिलाएर सेवा प्रवाहलाई निरन्तरता दिने उनको भनाइ छ ।
नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा विद्युतीय गाडीलाई अख्तियारको टोलीले निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिकै रोकेर जाँच गरेको थियो । सोही क्रममा गाडीमा शङ्कास्पद नगद रकम फेला परेपछि प्रमुख प्रशासकीय अधिकृत घिमिरेसहित गाडीका चालक, भुवन ढुङ्गेल र उनकी श्रीमतीलाई नियन्त्रणमा लिइएको हो ।
अख्तियारको टोलीले उक्त गाडीबाट ३३ लाख रुपैयाँ नगद बरामद गरेको थियो । अख्तियारको दाबीअनुसार प्रमुख प्रशासकीय अधिकृत घिमिरेले घुसबापत प्राप्त गरेको उक्त रकम व्यवस्थापनका लागि ढुङ्गेललाई दिएका थिए । बरामद रकमको स्रोत, उद्देश्य र यसमा संलग्न व्यक्तिहरूको भूमिकाबारे आयोगले अनुसन्धान अघि बढाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत स्थानीय सरकार सञ्चालनको प्रशासनिक मेरुदण्ड मानिन्छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ ले प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहको प्रशासनिक प्रमुखका रूपमा व्यवस्था गरेको छ । नगरपालिकाको दैनिक प्रशासन सञ्चालनदेखि आर्थिक व्यवस्थापन र निर्णय कार्यान्वयनसम्मका महत्त्वपूर्ण जिम्मेवारी उनकै नेतृत्वमा रहने कानुनी व्यवस्था छ ।
ऐनअनुसार प्रमुख प्रशासकीय अधिकृतले नगरसभा तथा नगर कार्यपालिकाको सचिवका रूपमा काम गर्ने, सभा र कार्यपालिकाबाट भएका निर्णय कार्यान्वयन गर्ने तथा कर्मचारी प्रशासन सञ्चालन गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्छ । त्यसैगरी नगरपालिकाको बजेट कार्यान्वयन, आर्थिक प्रशासन, सार्वजनिक सेवा प्रवाह र कर्मचारीबीच आवश्यक समन्वय गर्ने जिम्मेवारी पनि उनकै हुन्छ ।
नगरपालिकाको चलअचल सम्पत्तिको संरक्षण तथा सार्वजनिक सेवालाई प्रभावकारी बनाउने दायित्वसमेत प्रमुख प्रशासकीय अधिकृतमा रहने कानुनी व्यवस्था छ । यसैले प्रशासनिक नेतृत्वमा आएको रिक्तताले बजेट कार्यान्वयन, आर्थिक कारोबार, प्रशासनिक निर्णय र दैनिक सेवा प्रवाहमा असर पार्न सक्ने देखिन्छ ।
प्रमुख प्रशासकीय अधिकृत अनुसन्धानका लागि नियन्त्रणमा परेपछि मध्यपुर थिमि नगरपालिकाले प्रशासनिक नेतृत्वको वैकल्पिक व्यवस्था कसरी गर्छ भन्ने विषय महत्त्वपूर्ण बनेको छ । सूचना अधिकारीले लामो समयसम्म काम प्रभावित नहुने बताए पनि प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने जिम्मेवारीको व्यवस्थापन नगरपालिकाका लागि तत्कालको चुनौती बनेको छ ।



