गण्डकी – पृथ्वी राजमार्गअन्तर्गत मुलुककै व्यस्त सडकमार्गमध्ये एक पोखरा–मुग्लिन सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । सडक विस्तार तथा स्तरोन्नतिको कामले गति लिएसँगै पूर्वी खण्ड निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेको छ भने पश्चिम खण्डको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ । पश्चिम खण्डको बाँकी काम आगामी मङ्सिरभित्र सम्पन्न गर्ने लक्ष्य आयोजनाले लिएको छ ।
पोखरा–मुग्लिन सडक स्तरोन्नति भएपछि गण्डकी प्रदेशको राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौं, चितवनलगायत प्रमुख सहरसँग जोड्ने यातायात सेवा थप सहज हुने अपेक्षा गरिएको छ । लामो समयसम्म सडक निर्माणका क्रममा धुलो, हिलो, साँघुरो सडक र जामको समस्या भोग्दै आएका यात्रुले अब फराकिलो चार तथा छ लेनको सडकमा यात्रा गर्न पाउने भएका छन् ।
आयोजना कार्यालयका अनुसार पोखरा–जामुने पश्चिम खण्डको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ । पश्चिम खण्डका आयोजना प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले आगामी मङ्सिरभित्र निर्माणको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए । उनका अनुसार अहिले करिब पाँच किलोमिटर सडकमा सर्भिस लेन कालोपत्र गर्न बाँकी छ । त्यसबाहेक सडक चिह्न, ट्राफिक सङ्केत र सडक सुरक्षासँग सम्बन्धित कामलाई तीव्रता दिइएको छ ।
पोखरा महानगरपालिका–१० स्थित अमरसिंहचोकदेखि सेती पुलसम्मका साथै तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्र गर्ने तयारी भइरहेको कुँवरले बताए । सहरी क्षेत्रमा सडक निर्माणका बाँकी काम पूरा गर्न आयोजनाले प्राथमिकता दिएको उनको भनाइ छ ।
कुल ३८.८८ किलोमिटर दूरीको पश्चिम खण्डमा १८.५ किलोमिटर सडक छ लेनमा विस्तार गरिएको छ भने बाँकी सडक चार लेनको बनाइएको छ । सहरी क्षेत्रको जनघनत्व र सवारी चापलाई ध्यानमा राखेर छ लेन सडक निर्माण गरिएको हो । तनहुँतर्फ दुलेगौँडा र खैरेनीटार क्षेत्रमा पनि छ लेनको सडक निर्माण भएको छ ।
यस खण्डमा निर्माण गर्नुपर्ने १३ वटा पुलमध्ये १२ वटा पुल सम्पन्न भइसकेका छन् । पोखराको सेती नदीमाथि निर्माणाधीन ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ ।
पश्चिम खण्डको निर्माणका लागि २०७८ जेठ २ गते सम्झौता भएको थियो । त्यसपछि २०७८ भदौ १२ गतेदेखि निर्माणको काम सुरु गरिएको हो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको थियो । निर्माण सम्पन्न भएपछि यस खण्डमा पनि एक वर्षसम्म त्रुटि सच्याउने अवधि रहनेछ । त्यसपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मेवारी निर्माण कम्पनीकै हुने व्यवस्था रहेको आयोजना प्रमुख कुँवरले बताए ।
यसैगरी पोखरा–जामुने–मुग्लिन सडकको पूर्वी खण्डको निर्माण सम्पन्न भई हस्तान्तरणसमेत भइसकेको छ । जामुनेदेखि मुग्लिनसम्मको ४१.४५ किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिको काम पूरा भएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार उक्त खण्डमा सडक विस्तारको काम सम्पन्न भएपछि त्रुटि सच्याउने अवधि (डिफेक्ट लायबिलिटी पिरियड) सुरु भइसकेको छ । उक्त अवधि सकिएपछि पनि थप पाँच वर्षसम्म सडकको मर्मतसम्भार गर्ने जिम्मेवारी निर्माण कम्पनीकै रहनेछ ।
पूर्वी खण्डमा तनहुँको दमौली र डुम्रे बजार क्षेत्रमा करिब दुई किलोमिटर सडक छ लेनमा विस्तार गरिएको छ भने अन्य क्षेत्रमा चार लेनको सडक निर्माण गरिएको छ । यस खण्डमा साना तथा ठूला गरी १७ वटा पक्की पुल निर्माण भएका छन् । तनहुँको मादी नदीमाथि निर्माणाधीन ‘सिग्नेचर’ पुल भने यस खण्डको मुख्य सडक निर्माणको ठेक्काभन्दा अलग्गै सम्झौताअनुसार निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताए ।
पूर्वी खण्डको निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले लिएको थियो । कम्पनीले छ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा निर्माणको ठेक्का पाएको थियो । पाँच दशकअघि निर्माण भएको पुरानो सडकलाई आधुनिक मापदण्डअनुसार विस्तार तथा स्तरोन्नति गर्ने काम २०७८ वैशाखदेखि सुरु गरिएको थियो ।
कुल करिब ८१ किलोमिटर दूरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नति गरिएको हो । सरकारको प्राथमिकताप्राप्त आयोजनाका रूपमा अघि बढाइएको यस सडक निर्माणले सुरुका वर्षमा अपेक्षित गति लिन सकेको थिएन । निर्माणमा ढिलाइ भएपछि पोखराका पर्यटन व्यवसायी तथा स्थानीय सरोकारवालाले पटकपटक दबाबसमेत दिएका थिए ।
सडक निर्माणका क्रममा यात्रुले लामो समयसम्म धुलो, हिलो, सवारी जाम र जोखिमपूर्ण यात्राको समस्या भोग्नुपरेको थियो । विशेषगरी वर्षायाममा सडक हिलाम्मे हुँदा र सुक्खायाममा धुलो उड्दा सर्वसाधारणसँगै पर्यटकले समेत सास्ती खेप्नुपरेको थियो । अहिले सडकको ठूलो हिस्सा फराकिलो र कालोपत्र भइसकेपछि यात्रामा सहजता थपिएको छ ।
सडक विस्तारसँगै पोखरा र आसपासका सहरी क्षेत्रका साँघुरा चोक तथा सडकसमेत फराकिला बनेका छन् । अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक र तालचोकलगायत स्थानमा सडक मापदण्डविपरीत बनेका संरचना हटाएर सडक तथा चोक विस्तार गरिएको छ । यसले सवारी आवागमन सहज बनाउनुका साथै सहरी क्षेत्रको स्वरूपमा समेत परिवर्तन ल्याएको छ ।
पोखरा गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य भएकाले राजधानी काठमाडौं, चितवन र अन्य प्रमुख सहरबाट पोखरा पुग्ने पर्यटकका लागि यो सडक अत्यन्त महत्त्वपूर्ण मानिन्छ । सडक स्तरोन्नतिपछि यात्रा समय, सवारी सञ्चालनको सहजता र सडक सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ ।
गण्डकी प्रदेशको आर्थिक तथा पर्यटकीय गतिविधिसँग प्रत्यक्ष जोडिएको यस सडकको स्तरोन्नति सम्पन्न भएपछि पर्यटन, व्यापार, यातायात र स्थानीय उत्पादनको आवागमनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । विशेषगरी पोखरासहित तनहुँका बजार क्षेत्रको आर्थिक गतिविधि विस्तार गर्न र प्रदेशको राजधानीसँग अन्य क्षेत्रको सम्पर्क थप प्रभावकारी बनाउन सडकले महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
पूर्वी खण्ड हस्तान्तरण भइसकेको र पश्चिम खण्डको काम पनि अन्तिम चरणमा पुगेकाले लामो समयदेखि निर्माणको सास्ती खेपिरहेका यात्रुले अब पूर्ण स्तरोन्नति भएको पोखरा–मुग्लिन सडकमा सहज यात्रा गर्न पाउने अपेक्षा गरिएको छ ।



