कृषि पढेका युवाको आम्दानीको स्राेत पुष्पखेती

बाँके – कृषि विषयमा अध्ययन गरेका बाँकेका तीन युवाले व्यावसायिक सम्भावना खोज्दै पुष्पखेतीलाई आम्दानीको माध्यम बनाएका छन्। नेपालगञ्ज उपमहानगरपालिका–१९ फुटाहामा १० कट्ठा जग्गा भाडामा लिएर सुरु गरिएको उनीहरूको पुष्पखेतीले तिहारअघि नै बजार पाउन थालेको छ।

कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका स्थानीय वेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले सानो लगानीबाट सुरु गरेको यो खेतीलाई भविष्यमा विस्तार गर्ने योजना बनाएका छन्। उनीहरूले ‘फिट फार्म’ नामक संस्थामार्फत सामूहिक प्रयासमा पुष्पखेतीको अभ्यास थालेका हुन्।

फार्मका सञ्चालक वेदराज आचार्यका अनुसार पहिलो प्रयासमै फूलको उत्पादन राम्रो भएको छ। अहिले फूलको अग्रिम माग आउन थालेको छ भने खुद्रा बिक्रीसमेत भइरहेको छ। तिहारलाई लक्षित गरेर गरिएको खेतीबाट पर्वअघि नै करिब ५० हजार रुपैयाँ बराबरको फूल बिक्री भइसकेको उनले जानकारी दिए।

फूलको माग स्थानीय बजारमा मात्र सीमित छैन। बुटवल, दाङ, काठमाडौं र सुर्खेतलगायत स्थानबाट समेत माग आएको छ। तर फार्मले सुरुमा स्थानीय उपभोक्तालाई प्राथमिकता दिएको आचार्यले बताए। तिहारका बेला नेपालगञ्जको धम्बोझी क्षेत्रमा फूल तथा माला बिक्री गर्ने तयारीसमेत गरिएको छ।

तिहारमा सयपत्री फूलको माग उच्च हुने भए पनि बजारमा भारतीय फूलको आयातले ठूलो हिस्सा ओगटिरहेको छ। यही अवस्थालाई अवसरका रूपमा लिएर स्थानीय उत्पादन बढाउन सकिने विश्वाससहित युवाहरूले खेती सुरु गरेका हुन्। थोरै लगानी र मेहनतबाट पनि राम्रो आम्दानी लिन सकिने सम्भावना आफूहरूले देखेको आचार्यको भनाइ छ।

खेतीका लागि उनीहरूले पानी नजम्ने जग्गा छनोट गरी चितवनबाट फूलको बीउ ल्याएका थिए। गत साउनदेखि सुरु गरिएको खेतीमा वर्षायामको झरीसँगै रोग तथा किराको व्यवस्थापन चुनौतीपूर्ण भए पनि उत्पादनलाई राम्रो बनाउन सफल भएको आचार्यले बताए। पुष्पखेती गर्दा जग्गामा पानी जम्न नदिन विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।

कृषि विषयमै अध्ययन गरेका कारण खेतीका प्राविधिक पक्षबारे आफूहरू जानकार रहेको उल्लेख गर्दै आचार्यले आवश्यक ज्ञानका लागि विभिन्न निकाय धाउनुपर्ने अवस्था नरहेको बताए। पुष्पखेतीसँगै भविष्यमा तरबुजा र स्ट्रबेरी खेतीलाई पनि प्राथमिकता दिने उनीहरूको योजना छ।

फूलको बजार खोज्न फार्मले सामाजिक सञ्जाललाई मुख्य माध्यम बनाएको छ। सामाजिक सञ्जालमार्फत उत्पादनको जानकारी सार्वजनिक गरेपछि ग्राहकबाट माग आउन थालेको आचार्यले बताए। यसले स्थानीय उत्पादनको बजारीकरणमा नयाँ सम्भावना देखाएको छ।

यसैबीच, बाँकेमा पुष्पखेती विस्तार हुँदै गएको छ। लुम्बिनी फ्लोरिकल्चर एसोसिएसनकी पूर्वसदस्य तथा महिला उद्यमी सङ्घ बाँकेकी महासचिव बिन्दुचर्ति मगरका अनुसार जिल्लामा करिब १३ बिघा क्षेत्रफलमा फूलखेती भइरहेको छ। नरैनापुर, खजुरा, नेपालगञ्ज र कोहलपुर क्षेत्रमा पुष्पखेती गरिएको छ।

जिल्लामा सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूल उत्पादन हुँदै आएका छन्। स्थानीय किसानले उत्पादन गरेको फूललाई बजारसम्म पुर्‍याउन स्थानीय तहले आवश्यक नीति तथा कार्यक्रम बनाउनुपर्ने मगरको सुझाव छ। उनले स्थानीय उत्पादनले बजार पाउने वातावरण बनाउन र भारतीय फूलको आयात नियन्त्रण गर्न आवश्यक रहेको धारणा राखिन्।

कृषि पढेका युवाले आफ्नै ज्ञान र सीप प्रयोग गरेर खेतीलाई उद्यममा रूपान्तरण गर्न थालेको यो प्रयासले स्थानीय स्तरमै रोजगारी र आम्दानीको सम्भावना देखाएको छ। आयातित फूलमा निर्भर बजारमा स्थानीय उत्पादन बढाउन सके किसानले आम्दानी पाउनुका साथै स्वदेशी उत्पादनको बजारसमेत विस्तार हुन सक्छ।