सुर्खेत – कर्णाली प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढाएको एकीकृत प्रशासनिक भवन निर्माणको कामलाई गुणस्तरीय र व्यवस्थित बनाउन प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले स्थलगत निरीक्षण गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिका–७ इत्राम, सुर्खेतमा निर्माणाधीन भवनको बुधबार निरीक्षण गर्दै मन्त्री रोका र मन्त्रालयका सचिव अर्जुनकुमार बमले आयोजनाको कार्यप्रगति, निर्माणको गुणस्तर, प्राविधिक पक्ष तथा प्रयोग भइरहेका निर्माण सामग्रीबारे जानकारी लिएका हुन् । निरीक्षणका क्रममा निर्माणका क्रममा आउन सक्ने चुनौती र त्यसको समाधानका उपायबारे समेत छलफल गरिएको थियो ।
मन्त्री रोकाले एकीकृत प्रशासनिक भवन कर्णाली प्रदेशको प्रशासनिक सेवा प्रवाहसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण संरचना भएको बताए । भवन निर्माण सम्पन्न भएपछि प्रदेशका विभिन्न मन्त्रालय तथा मन्त्रीका प्रशासनिक कामकारबाही एउटै परिसरबाट सञ्चालन गर्न सहज हुने र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन आधार तयार हुने उनको भनाइ छ ।
उनले आयोजनाको काम अघि बढाउँदा निर्माणको गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिए । प्राविधिक पक्षमा विशेष ध्यान दिनुपर्ने र निर्माणमा संलग्न प्रत्येक निकायको जिम्मेवारी स्पष्ट हुनुपर्नेमा उनले जोड दिए ।
आयोजना निर्माणका क्रममा प्रदेश सरकारका सम्बन्धित निकाय र मन्त्रालय दुवै जिम्मेवार तथा जवाफदेही भएर काम गर्नुपर्ने मन्त्री रोकाको भनाइ छ । आवश्यक स्रोतसाधनको उपलब्धता र परिचालनमा देखिने समस्या समाधान गर्न मन्त्रालयले सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने उनले बताए ।
निर्माणका क्रममा विभिन्न पक्षबाट फरक–फरक बुझाइ र चुनौती आउन सक्ने भएकाले प्रदेशको समग्र आवश्यकता र भविष्यको प्रशासनिक संरचनालाई ध्यानमा राखेर काम अघि बढाउनुपर्ने मन्त्री रोकाले बताए । आयोजनालाई तोकिएको समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।
निरीक्षणका क्रममा मन्त्रालयका सचिव बमले आयोजनाको प्रगति र निर्माणको गुणस्तरबारे हरेक महिना नियमित समीक्षा गर्नुपर्ने बताए । कामका क्रममा कुनै समस्या देखिए त्यसलाई लामो समयसम्म थाती नराखी तत्काल समाधानको पहल गर्नुपर्नेमा उनले जोड दिए ।
सचिव बमले निर्माणमा प्रयोग हुने सामग्रीको गुणस्तर सुनिश्चित गर्न प्रयोगशालाको भूमिका महत्वपूर्ण हुने बताए । विशेषगरी सरिया, सिमेन्टलगायत निर्माण सामग्रीको परीक्षणमा कुनै सम्झौता गर्न नहुने उनको भनाइ थियो । प्रयोगशालामा खटिने प्राविधिक कर्मचारीलाई परीक्षणका क्रममा चनाखो र जिम्मेवार भएर काम गर्न उनले निर्देशन दिए ।
करिब तीन अर्ब दुई करोड २९ लाख ५८ हजार २८० रुपैयाँ लागतमा निर्माण हुन लागेको एकीकृत प्रशासनिक भवनको ठेक्का कन्टेक–नव सिर्जनशील जेभीले पाएको छ । पूर्वाधार विकास कार्यालय सुर्खेतमार्फत कार्यान्वयन भइरहेको आयोजनाको ठेक्का सम्झौता २०८३ असारमा भएको हो ।
आयोजना निर्माणका लागि करिब ३६ महिनाको समयावधि तोकिएको छ । ठेक्का सम्झौता भएको केही समयपछि निर्माणको काम सुरु भएको हो । हाल भवन निर्माणको प्रारम्भिक चरणमा काम अघि बढिरहेको छ ।
प्रदेशका मन्त्रालयका प्रशासनिक काम एउटै परिसरबाट सञ्चालन गर्ने उद्देश्यले निर्माण थालिएको यो भवन कर्णालीको प्रशासनिक पूर्वाधार विकासका दृष्टिले महत्वपूर्ण आयोजना मानिएको छ । भवन निर्माण सम्पन्न भएपछि मन्त्रालयहरूबीचको समन्वय, प्रशासनिक कामको व्यवस्थापन तथा प्रदेश सरकारको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



