काठमाडौं प्लाजा अब महानगरले भाडामा लिने पक्का, ट्रष्टसँग १० वर्षका लागि सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजा भाडामा लिने पक्का भएको छ । प्लाजा भाडामा लिन गरि महानगरपालिकाले नेपाल ट्रष्टसँग बुधबार सम्झौता गरेको छ ।

नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबारमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

महानगरपालिकाले नेपाल ट्रष्टसँग १० वर्षका लागि यो सम्झौता गरेको हो । पाँच बर्षपछि १० प्रतिशतलेभाडा वृद्धि गर्ने सम्झौतामा उल्लेख छ ।

पाँच रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको काठमाडौं प्लाजा ७ तलाको छ । भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २०० दुई पाङ्ग्रे सवारी साधन अटाउने पार्किङ् छ ।

काठमाडौं प्लाजालाई महानगरपालिकाले कार्यालय प्रयोजनका लागि प्रयोगमा ल्याउने भएको छ । हाल विभिन्न ठाउँमा छरिएर रहेका महानगरका विभागका कार्यालयहरूलाई अब काठमाडौं प्लाजाबाट सञ्चालन गरिनेछ ।