‘गोला ढुङ्गा र काँचो माटोबाट घर बनाउन प्रोत्साहन नगरौँ’

काठमाडौँ, माघ १ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोला ढुङ्गा र काँचो माटोबाट बनेका घर निर्माण गर्न प्रोत्साहन नगर्न अनुरोध गरेको छ । गोला ढुङ्गा र काँचो माटोबाट बनेका घर भूकम्पबाट अति जोखिममा रहने भएकाले यस्ता घर निर्माणमा कसैलाई पनि प्रोत्साहन नगर्न अनुरोध गरेको हो ।

जाजरकोट भूकम्पमा परेर क्षति भएका घरहरु यस्तै ढुङ्गा र काँचो माटोबाट बनेका धेरै रहेको बताउँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसतर्फ सर्वसाधारण पनि आफैँ सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सरोकारवाला निकाय तथा स्थानीय तहले यस्ता घर निर्माणमा प्रोत्साहन गर्न नहुने बताउनुभयो ।

पोखरेलले कर्णाली प्रदेशमा यस्ता काँचो माटो र डल्लो ढुङ्गाबाट बनेका घरहरु करिब ८० प्रतिशत रहेको जानकारी गराउँदै अब गोला ढुङ्गाबाट घर नबनाउन अनुरोध गर्नुभयो । “स्थानीय स्रोत साधनबाट पनि राम्रा र बलिया घरहरु बन्छन् । भूकम्प प्रतिरोधी घर निर्माणका लागि आवश्यक ज्ञान सीप दिन जरुरी छ”, उहाँले भन्नुभयो, “घर कसरी बलियो र भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भन्ने ज्ञानको अभाव देखिएको छ । जसले चुनौती खडा गरिरहेको छ, अब पालिकालाई त्यो सीप र ज्ञान प्रदान गरेर नागरिकसम्म पु¥याउनुपर्छ ।”

प्रमुख कार्यकारी अधिकृत पोखरेलले प्राधिकरणले अब गोला ढुङ्गाबाट घर बनाउने चलनलाई अन्त्यका लागि योजना बनाएर अघि बढ्ने बताउनुभयो । उहाँले विपद् व्यवस्थापनको प्रमुख जिम्मा स्थानीय तहको बढी हुने भएकाले पालिकाले यस विषयमा बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

तीनै तहका सरकारसँगको समन्वयमा मात्रै विपद् व्यवस्थापनका काम प्रभावकारी गर्न सकिने प्राधिकरणको भनाइ छ ।

“जाजरकोट बारेकोटमा हेर्दा खानीका ढुङ्गा प्रयोग भएको पाइएको छ । जहाँ खानीका ढुङ्गा प्रयोग भएका छन्, त्यहाँ क्षति कम भएको देनिन्छ । जहाँ गोला ढुङ्गा प्रयोग भएका छन् त्यहाँ क्षति बढी भएको छ”, पोखरेलले भन्नुभयो । भूकम्प प्रतिरोधी घर निर्माणमा सर्वसाधारणलाई प्रोत्साहन गर्न प्रधिकरणले योजना बनाइरहेको उहाँले जानकारी दिनुभयो ।

प्राधिकरणले गोला ढुङ्गालाई काट्ने फलामको आरोको बन्दोबस्त गर्ने जनाउँदै पोखरेलले सहरी विकास मन्त्रालय तथा प्राधिकरणले पुनःनिर्माणमा उक्त आरोको प्रयोग गरी निर्माण सामग्री तयार गर्ने गर्ने योजना बनाइरहेको बताउनुभयो । “इन्टरलकिङ्का इँट्टका घरहरु २०७२ को भूकम्पमा प्रयोग गरिएको थियो । अहिले ती घर सुरक्षित छन् । गोला डुङ्गाका घर भने भूकम्पीय जोखिममा छन्”, उहाँले भन्नुभयो, “त्यसैले यस्ता घर निर्माण नगर्न प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।”