कञ्चनपुरका दुई पालिकाले ल्याए नीति तथा कार्यक्रम

काठमाडौँ, बैशाख ६ गते । कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकाले नीति तथा कार्यक्रम ल्याएका छन् । नौ पालिकामध्ये यी दुई पालिकाबाहेक अन्य पालिकाले आज नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् । योजना तर्जुमा दिग्दर्शन २०७८ अनुसार वैशाख ७ गते पालिका प्रमुखले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ ।

बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहोराले वैशाख ७ गतेभित्र पालिका प्रमुखले नीति तथा कार्यक्रम सभामा पेस गर्नुपर्ने व्यवस्थाबमोजिम नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको बताउनुभयो । “आजको नगरसभामा नीति तथा कार्यक्रम पेस गरेर छलफल हुन्छ”, उहाँले भन्नुभयो, “त्यसपछि वैशाख १५ भित्रै वडामा सिलिङ पठाइसक्छौँ ।”

त्यसैगरी शुक्लाफाँटा नगरपालिकाले पनि नीति तथा कार्यक्रममा छलफल चलाएको छ । नगरनगर प्रमुख रणबहादुर महराले नीति तथा कार्यक्रममाथि छलफल भइरहेको बताउनुभयो । “अहिले हामी छलफलमै छौँ यही बैशाख १२ गतेको नगरसभामा नीति तथा कार्यक्रम पेस गर्छौं”, उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रमअनुसार आगामी वर्षको बजेट ल्याउँछौँ ।”

अन्य पालिकाका प्रमुखले वैशाख ७ गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्थाबारे अनविज्ञ रहेको जनाएका छन् । दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले वैशाख ७ मै नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्थाबारे जानकारी नभएको बताउनुभयो । “अहिले नगरपालिकाले त्यस्तो नीति तथा कार्यक्रम केही बनाएको छैन”, उहाँले भन्नुभयो ।

त्यसैगरी भीमदत्त नगरपालिकाले पनि नीति तथा कार्यक्रम ल्याउन सकेको छैन । नगरप्रमुख पदम बोगटीले नीति तथा कार्यक्रम वैशाख ७ मै ल्याउनुपर्ने व्यवस्थाप्रति नै अनविज्ञता जनाउनुभयो । त्यसैगरी बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले वैशाख ७ गतेभित्र नगरसभामा पेस गर्नुपर्ने नीति तथा कार्यक्रमबारे जानकारी नभएको बताउनुभयो ।

वैशाख ७ सम्ममा गाउँपालिका अध्यक्ष वा नगरप्रमुखले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने नीतीगत व्यवस्था भए पनि स्थानीय सरकार प्रमुख यसबारे जानकार छैनन् ।

योजनातर्जुमा दिग्दर्शन २०७८ अनुसार विषयगत शाखाले विषय क्षेत्रसँग सम्बन्धित सूचना सङ्कलन र विश्लेषण गरी मङ्सिर मसान्तभित्र सबै पत्र अद्यावधिक गरिसक्नुपर्ने व्यवस्था छ ।

त्यसैगरी पुस १५ गतेभित्र विषयगत शाखा र प्रमुख प्रशासकीय अधिकृतले आगामी तीन आवमा हुने खर्चको प्रक्षेपणसहितको मध्यमकालीन खर्चको संरचनासमेत कार्यक्षेत्रभित्रका विषयमा हुने सार्वजनिक खर्चको विवरण तयार गर्ने र पुस मसान्तभित्र आगामी आवको राजस्व (आन्तरिक स्रोत, राजस्व बाँडफाँट, रोयल्टी, अनुदान र ऋण) को प्रक्षेपण र अनुमान तयार गरिसक्नुपर्ने व्यवस्था छ ।

त्यसैगरी पुस मसान्तभित्रै आयव्ययको प्रक्षेपण गरिएको तथ्याङ्क विवरण सङ्घ र प्रदेश अर्थ मन्त्रालयमा पेस गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । माघ मसान्तभित्र कार्यपालिकाले विषयगत क्षेत्र विभाजन गरेर सदस्यलाई जिम्मेवारी दिनुपर्ने व्यवस्था छ ।

त्यसैगरी फागुन मसान्तभित्र सङ्घ र चैत मसान्तभित्र प्रमुख प्रशासकीय अधिकृतले सङ्घ र प्रदेशबाट अनुदान तथा राजस्व बाँडफाँट, राजस्वकोे सीमा र मार्गदर्शन प्राप्त गर्ने तय गरिएको छ । चैत मसान्त भित्रै पालिका प्रमुखले गैसस, उपभोक्ता समिति, सहकारी संस्था आदिसँग योजना तथा बजेट सम्बन्धी पूर्वबजेटमा छलफल गरिसक्नुपर्ने व्यवस्था छ ।

वैशाख ७ गते नीति तथा कार्यक्रम तयार गरी अध्यक्ष/प्रमुखद्वारा सभामा पेस गर्ने व्यवस्था छ । वैशाख ७ गतेभित्रै बजेट तथा कार्यक्रमको प्राथमिकता निर्धारणका आधार तथा विधि तयार गर्ने र वैशाख १० गतेभित्र कूल बजेट अनुमान, सीमा निर्धारण र बजेट तर्जुमासम्बन्धी मार्गदर्शन तयार गर्नुपर्ने व्यवस्था छ । त्यसैगरी वैशाख १५ गतेभित्र विषयगत महाशाखा÷शाखा तथा वडा कार्यालयलाई बजेट सीमा तथा मार्गदर्शन उपलब्ध गराउने व्यवस्था छ ।