वीरगन्ज महानगरले ल्यायो ३ अर्ब २१ करोडको बजेट

काठमाडौँ, असार ६ गते । वीरगन्ज महानगरपालिकाले आव २०८०/०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ । महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बुधबार नगरसभाको १३ औं अधिवेशनमा आर्थिक वर्ष २०८०/०८१ का लागि उक्त अनुमानित आयव्यय विवरण प्रस्तुत गर्नुभयो ।

कुल बजेटमध्ये चालु तर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार रुपैयाँ बिनियोजन गरिएको छ । जुन कुल बजेटको ७७ प्रतिशत हो । पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको २२ प्रतिशत हो । वित्तीय व्यवस्था तर्फ ३ करोड ६३ लाख २४ हजार रुपैयाँ (कुल बजेटको १ प्रतिशत) छुट्याइएको छ ।

आगामी वर्ष शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख रुपैयाँ र खानेपानी तथा सरसफाई क्षेत्रमा १२ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी, आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवम् विकेन्द्रित रुपबाट उपलब्ध गराउन विकेन्द्रित स्वास्थ्य सेवाको लागि ३ करोड ७५ लाख, यातायात पूर्वाधार क्षेक्रको लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यत्रमका लागि ४ करोड ७५ लाख र खेलकुद क्षेत्रका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै लामखुटेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्न, औषधि छर्किने अभियानका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरपालिकाले संघीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट २१ करोड १२ लाख रुपैयाँ, सशर्त अनुदान ७५ करोड १६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट २५ करोड २४ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार रुपैयाँ, राजश्व बाँडफाडबाट २ करोड ८७ लाख रुपैयाँ र आन्तरिक राजश्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।

गत आवमा नगरसभाको १२ औं अधिवेशनले चालु आवका लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । चालु आवभन्दा आउदो आवमा महानगरको बजेट १२ करोड २७ लाख ५८ हजार रुपैयाँ कम हो ।

अधिवेशनमा महानगरका मेयर राजेशमान सिंहले आगामी आवका लागि महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

चालु आवमा महानगरका बढीमा ३० युनिटसम्म विद्युत खपत गर्ने गरिब तथा विपन्न परिवारहरुको ग्राहस्थ मिटरको न्युनतम मासिक शुल्क र विद्युत् महशुल शुल्कको भुक्तानी र कृषि उब्जनी बढाउनका लागि महानगरका किसानहरुको सिँचाइ मिटरको सम्पूर्ण विधुत् महशुल भुक्तानीको दायित्व वीरगन्ज महानगरपालिकाले व्यहोर्ने भएको छ ।

आउँदो आवदेखि नेपाल सरकारले नै गार्हस्थ मिटरमा ३० देखि ५० युनिटसम्मको विद्युत् महशुल निशुल्क गर्ने निर्णय गरेको हुँदा वीरगन्ज महानगरले गार्हस्थ मिटरमा दिने अनुदानको व्यवस्था हटाई कृषि मिटरमा दिइएको अनुदानलाई कायमै राखेको छ ।