लमजुङमा हराउँदै दुनाटपरी

काठमाडौं, असार २० गते । मौलिक रैथाने परम्परागतका दुनाटपरीको प्रयोग हुन छाडेसँगै लमजुङमा दुनाटपरी लोप हुन थालेको छ । बजारमा प्लास्टिकका थाल र पिलेटको प्रयोग बढ्न थालेकाले परम्परागतका दुनाटपरीको प्रयोग हट्दै गएको हो ।
प्लास्टिकबाट बनेका थाल÷पिलेट प्रयोग गर्न सजिलो हुने, नयाँ पुस्तामा दुनाटपरी लगाउने सिपको कमी र दुनाटपरीप्रतिको बेवास्थाका कारण यसको प्रयोग हराउँदै गएको हो । विगतमा नेपाली समाजमा पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायत शुभकार्यमा सालको पातको दुनाटपरीको प्रयोग गर्ने प्रचलन थियो ।
स्थानीय ९६ वर्षीय वृद्वा चिजकुमारी श्रेष्ठले पछिल्लो समयमा प्लास्टिकका भाँडाको प्रयोग बढेसँगै लमजुङका सहरबजारमा मात्र नभइ गाउँघरबाटै दुनाटपरी हराउँदै जाँदा चिन्ता लागेको बताउनुभयो ।
“गाउँघरमा केही सानो पूजा हुँदासमेत सालको पात चोखो हुन्छ भन्दै दुनाटपरी बनाएर प्रयोग हुन्थ्यो । गाउँघरमा सामूहिक रुपमा दुनाटपरी सिलाउँथ्ये । अहिले प्लास्टिकको भाँडाले गाउँघर ओगट्दा परम्परागत टुनाटपरीको प्रयोग हराउदै गएको छ”, दोर्दी गाउँपालिका–३ श्रीमञ्जाङका ७८ वर्षीय बुद्विमान श्रेष्ठले भन्नुभयो । युवा पुस्तामा सिपको कमीका साथै चासो नदिँदा विस्तारै दुना टपरी हराउँदै गएको उहाँको भनाइ थियो ।
बेँसीसहर नगरपालिका वडा नं. ८ का ५३ वर्षीय दालमाया श्रेष्ठले सालको पातको दुना–टपरी शुद्धताको प्रतिक भएको बताउनुभयो । “सालको पातबाट बनेका दुनाटपरी कहिले पनि जुठो हुँदैन । यसको धार्मिक महत्व पनि छ”, उहाँले भन्नुभयो । पहिला आजपूजामा जताततै सालको टपरी प्रयोग गरेको देखिए पनि केही वर्षयता प्लास्टिकका भाँडाको प्रयोग बढ्दै गएको उहाँको भनाइ थियो ।
राइनास नगरपालिका–८ स्थित हर्राबोटकी ७२ वर्षीय लालमायाँ श्रेष्ठले भन्नुभयो, “पहिला–पहिला सालको पात टिपेर ल्याइ बाँसको सिन्काले दुनाटपरी गाँसिन्थ्यो । पूजाआजामा प्रसाद यसैमा राखि खाईन्थ्यो, बाँडिन्थ्यो । सहरबजारमा समेत टुनाटपरीको प्रयोग बढ्दो थियो ।” गाउँबाट टुनाटपरी बनाएर सहरका विभिन्न स्थानमा पु¥याउने गरिएको उहाँले बताउनुभयो ।
अहिले आफू नसक्ने र युवा पुस्ताको बेवास्ताका कारण पातका दुनाटपरीको सट्टा प्लास्टिकका भाँडा नै प्रयोग गर्नु परेको श्रेष्ठले गुनासो गर्नुभयो । सालको पातको दुनाटपरी बुन्न समय लाग्ने भएकाले पनि छिटो, छरितोका लागि प्लास्टिकका भाँडाको प्रयोग बढ्दै गएको उहाँको भनाइ थियो ।
प्लाष्टिकका भाँडाले परम्परागत दुनाटपरीलाई विस्थापित गर्न थालेपछि दुनाटपरी प्रयोग गर्ने परम्परा हराउँदै गएको दुनाटपरी व्यवसाय गर्दै आउनुभएका बेँसीसहर नगरपालिका–७ का दिलिप श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्षपहिलेसम्म पसलमा दुनाटपरी खोज्न आउने गरेकामा अहिले प्याष्टिकबाट बनेको थाल र पिलेटको माग गर्ने भएको पसलमा दुनाटपरी राख्न छाडेको छु ।”
सालको पातको टपरी बनाउन समय लाग्ने र टपरी बनाउन सिप पनि आवश्यक पर्ने स्थानीय बताउँछन् । दुनाटपरी बनाउन युवा पुस्ताले बेवास्ता गरेसँगै परम्परागत दुनाटपरी लोप हुँदै गएकामा वृद्धवृद्धा चिन्तित छन् । नेपाली समाजले आधुनिकता र विदेशीको नक्कल गर्न थालेकाले परम्परागत वस्तुसँगै दुनाटपरी पनि हराउँदै गएको समाजका वृद्विजिवीको भनाइ छ ।