प्रचार नपाएको नौ बहिनी झरना

ढोरपाटन (बागलुङ), भदौ १५ गते ।  बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँको शिरमा छ नौ बहिनी झरना । एउटै पहाडको खोँचमा नौ स्थानमा रहेका झरना पर्यटकी हिसाबले निकै सम्भावना बोकेका छन् ।
मोराखोलामा कलकल पानी झर्दै बनेका आकर्षक झरनाको प्रचारप्रसार नहुँदा अहिलेसम्म पर्यटक पुग्न सकेका छैनन् । एकै ठाउँमा एउटै खोलमा रहेकाले स्थानीयले यी झरनाको नाम नौ बहिनी झरना राखेका हुन् । शान्त वातावरण र उच्च पहाडी हावापानीमा छन् दिदीबहिनी झरना । झरनासम्म मध्यपहाडी लोकमार्ग हुँदै भल्कोटबाट तीन घण्टा पदैलयात्रा गरेर पुग्न सकिन्छ ।
मोराखोलामा बनेको चार झरनामध्ये सबैभन्दामाथिको जेठी, त्यसभन्दा तल बनेका झरनालाई क्रमशः माइली, साइली र कान्छी भन्ने गरिएको छ । झरना जङ्गलको बीचमा रहेको हुँदा स्थानीयले घाँस दाउरा गर्न जाँदा झरनाको पहिचान गरेका थिए । वर्षौं अगाडि झरनाको पहिचान भए पनि अहिलेसम्म प्रचारप्रसार र विकास भने हुन सकेको छैन ।
 झरनाको फेदमा भल्कोटका स्थानीयले गोठ बनाएका छन् । गोठमा वर्षात्को समय सयौँ गाईभैँसी र भेडाबाख्रा बाँध्ने गरिन्छ । चरन क्षेत्रका लागि उपयुक्त यो क्षेत्र वनभोजस्थलका रूपमा पनि निकै उत्कृष्ट मानिन्छ । गोठमा बस्ने गोठालाले यही झरनाको पानी पिउने गर्छन् । यो झरना पैदलयात्रा गर्नका लागि झनै उपयुक्त मानिन्छ ।
ओझेलमा परेका यी झरनाको गाउँपालिकाले प्रचारप्रसार गर्न थालेको छ । यहाँ पूर्वाधारसमेत निर्माणका लागि डिपिआरसमेत गरिसकेको छ । पर्यटकलाई झरनासम्म सहजरुपमा पुग्न पदमार्ग र सडकको राम्रो व्यवस्था हुनुपर्ने देखिन्छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले झरनालाई प्रवद्र्धन गर्नका लागि पालिकाले योजना बनाएको बताउनुभयो । भौगोलिक विकटताका कारण अहिलेसम्म कुनै पनि संरचना निर्माण गर्न नसकिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “एकै ठाउँमा यति धेरै झरना त विरलै होलान्, यी झरना पर्यटकीय हिसाबले निकै मनमोहक छन्, अहिलेसम्म झरना ओझेलमा परेका छन्, अब मुख्य सडकदेखि नै पदमार्ग बनाउने, प्रचारप्रसार गर्ने र पर्यटक भित्र्याउने योजना बनाएका छौँ, आगामी वर्षको बजेटमा यसलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।
झरना समुन्द्री सतहदेखि करिब तीन हजार मिटरको उचाइमा छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको भल्कोट गाउँदेखि यहाँसम्म पुग्न करिब दुई घण्टा पैदलयात्रा गर्नु पर्छ । यतिबेला झरना निकै मनमोहक देखिने स्थानीय बताउँछन् ।