काठमाडौं – विकास निर्माण, सडक विस्तार र बजेट कार्यान्वयनप्रति बाजुराको बिच्छ्या क्षेत्रका स्थानीय मतदाताको असन्तुष्टि चुलिँदै गएको छ । चुनावी प्रचारप्रसारमा पुगेका उम्मेदवारहरूप्रति स्थानीयले खुलेर आक्रोश व्यक्त गर्न थालेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापासँग बिच्छ्याको कोटगाउँका स्थानीयले तत्काल सडक निर्माणको माग गरेका छन् । “हामीले दिएको भोटले सरकार र पहुँचमा पुगेपछि पनि केही भएन,” भन्दै स्थानीयले थापाप्रति आक्रोश पोखेका छन् ।
भिडियोमा एक स्थानीयले थापालाई ‘भोलिनै डोजर ल्याएर रोड हान्देउँ’ आग्रह गरेका छन् । त्यसको जवाफमा थापाले आफू पहिलोपटक त्यहाँ आएको र तत्काल सडक, घर वा विद्यालय बनाउन नसक्ने स्पष्ट पारे । “मसँग सरकार छैन, बजेट छैन । भोलि बिहानै सडक बनाउन सम्भव हुँदैन,” भन्दै उनले झुटो आश्वासन दिन नसक्ने बताए ।
थापाले सडक आवश्यक भए पनि बजेट, योजना र कार्यान्वयन कमजोर हुँदा गाउँमा विकास नपुगेको गुनासो गरे । राज्यको उपस्थितिको अभावप्रति व्यङ्ग्य गर्दै उनले भने, “डोजर ल्याएर सडक हान्न सकिन्छ भन्ने जस्तो लागे पनि त्यो मेरो अधिकार र क्षमतामा छैन।”
स्थानीयले ‘गाँठो पर्छ’ भन्ने शब्द प्रयोग गर्दै समस्या जटिल बन्दै गएको र वर्षौंदेखि उही पीडा दोहोरिँदै आएको बताएका छन् । उनीहरूका अनुसार बजेट आउने तर काम नहुने, योजना कागजमै सीमित हुने र सेवा प्रवाह कमजोर हुँदा जनजीवन प्रभावित भएको छ । कतिपय ठाउँमा सडक खनेर छोड्ने, काम अधुरो राख्ने र जनताले निरन्तर दुःख भोग्नुपर्ने अवस्था रहेको गुनासो छ ।
थापाले स्थानीयसँग संवाद गर्दै २०४८ सालदेखि कांग्रेस र एमालेजस्ता दललाई निरन्तर भोट दिँदै आएको विषय उठाए । त्यसमा स्थानीयले विकासको आश्वासन दिने तर जितेपछि फर्केर नआउने प्रवृत्तिप्रति आक्रोश व्यक्त गरे ।
थापाले भने, “अहिले मलाई भन्नु भएको छ, भोलि कांग्रेस र एमालेका नेता आए उनीहरूलाई पनि यही कुरा भन्नुहोस् । सरकार त उनीहरूकै थियो।” उनले जनताले लामो समयसम्म पुरानै दललाई भोट दिँदा अहिलेको अवस्था आएको तर्क गरे ।
काठमाडौं महानगरपालिकामा बालेन शाह, जुम्लामा ज्ञानेन्द्र शाही र धरानमा हर्क साम्पाङजस्ता नयाँ अनुहारलाई जनताले जिताएको उदाहरण दिँदै थापाले परिवर्तनका लागि मतदाताले पनि भूमिका खेल्नुपर्ने बताए । “गल्ती हामी जनताको पनि केही छ,” उनले भने।
भिडियोमा उठाइएका विषयहरूले बाजुरामा सडक, बजेट वितरण, योजना कार्यान्वयन र सेवा प्रवाहमा गम्भीर समस्या रहेको देखाएको छ। विकासका काम प्रभावकारी रूपमा हुन नसक्दा स्थानीय तहमा जनआक्रोश बढ्दै गएको स्थानीयको भनाइ छ ।



