उपभोक्ताकाे रोजाइमा साल्ट ट्रेडिङका सुपथ मूल्य पसल

काभ्रे – दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काभ्रेको बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

चाडपर्वका बेला बजारमा हुनसक्ने सम्भावित मूल्यवृद्धिमा हस्तक्षेप गर्दै उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएका पसलमा चाडपर्वका सामग्री खरिद गर्ने उपभोक्ताको चाप बढेको छ ।

बनेपाको तीनदोबाटोस्थित कर्पोरेशनको वितरण केन्द्रमा सञ्चालनमा रहेको सुपथ मूल्य पसल छठ पर्वसम्म खुला रहनेछ । शनिबारसहित सातै दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म पसल सञ्चालन हुने साल्ट ट्रेडिङ कर्पोरेशन बनेपा शाखाका कार्यालय प्रमुख सुरेन्द्र अवालेले जानकारी दिए ।

सुपथ मूल्य पसलका लागि विशेष मूल्यसूची निर्धारण गरिएको छ । जसअनुसार नुन प्रतिकिलो २४ रुपैयाँ र चिनी प्रतिकिलो १०० रुपैयाँमा बिक्री भइरहेको छ । २५ किलोग्रामको भान्साघर स्टिम जिरा मसिनो चामलको मूल्य दुई हजार ५८० रुपैयाँ तोकिएको छ । मङ्गलम, पाल्की, निश्चल, नातिनातिनी र बहुलीलगायत विभिन्न ब्रान्डका चामलसमेत छुटसहित बिक्रीका लागि राखिएका छन् ।

त्यस्तै, मुसुरो दाल प्रतिकिलो १४० रुपैयाँ, रहर दाल २१० रुपैयाँ, मास दाल २०५ रुपैयाँ र चना दाल १५५ रुपैयाँमा बिक्री भइरहेको छ । मुग दाल, विभिन्न प्रकारका सिमी तथा गेडागुडीसमेत छुट मूल्यमा उपलब्ध रहेको कर्पोरेशनले जनाएको छ ।

पसलमा मनश्री र सिवालिक ब्रान्डका आटा तथा मैदा, कोदो र फापरको पिठो तथा मकै र जौको च्याख्लासमेत राखिएको छ । घ्यु तथा तेलतर्फ डिडीसी घ्यु एक हजार १४० रुपैयाँ, शान्ति तोरीको तेल ३८० रुपैयाँ र तृप्ति तोरीको तेल २७० रुपैयाँमा उपलब्ध छन् । सनबिम सूर्यमुखी तेलसमेत बिक्रीका लागि राखिएको छ ।

अर्गानिक लसुन, अदुवा, दालचिनी, खुर्सानी, बेसारलगायत मसला तथा विभिन्न ब्रान्डका चियासमेत सुपथ मूल्य पसलमा उपलब्ध छन् । खाद्यान्नबाहेक अन्य घरायसी सामग्रीमा समेत सहुलियत दिइएको कर्पोरेशनले जनाएको छ ।

एसटिसी ग्यास सिलिन्डर दुई हजार १६५ रुपैयाँ, लुनारको दुई हजार वाटको इन्डक्सन कुकटप चार हजार ९६० रुपैयाँ र किनमेल गर्ने झोला ३५ रुपैयाँमा उपलब्ध रहेको कार्यालय प्रमुख अवालेले बताउनुभयो । उहाँले चाडपर्वका बेला आवश्यक उपभोग्य वस्तु सुलभ र सहज रूपमा खरिद गर्न उपभोक्तालाई आग्रह गरे ।

खुला बजारको तुलनामा सुपथ मूल्य पसलमा खाद्यान्न तथा घरायसी सामग्री सस्तो मूल्यमा उपलब्ध भएपछि उपभोक्ताले राहत महसुस गरेका छन् । पसलमा सामान खरिद गरिरहनुभएकी बनेपाकी स्थानीय उपभोक्ता रमिता नेपालीले बजारमा महँगी बढिरहेका बेला चाडपर्वको मुखमा साल्ट ट्रेडिङले नुन, तेल, चामल र दाल सस्तोमा उपलब्ध गराउँदा सर्वसाधारणलाई राहत भएको बताए ।

“यसले घरखर्च चलाउन सहज भएको छ,” उनले भने ।

साल्ट ट्रेडिङले असोज १ गतेदेखि दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कर्पोरेशनले बिर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा समेत चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएको छ ।