‘कानूनको रक्षक हुनुपर्ने सरकार आफैं भक्षक भयो’

काठमाडौं — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कानूनको रक्षक हुनुपर्ने सरकार आफैं भक्षक हुन पुगेको बताएका छन्।

समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै उनले संसदको समितिमा विचाराधिन भएका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने बताएका हुन्।

‘दुई पार्टी सत्तामा छन्, उनीहरुमा दम्भ सवार भएको छ। त्यो दम्भ सवार भएकाले संविधान, कानून, सबै जे पनि मिच्न सकिन्छ भन्ने मान्यता विकास भएको छ। कतिपयलाई मूर्ख बनाउन सकिन्छ भनेर मूर्ख बनाउने काम पनि विगतमा गरेका छन्। तर असत्य धेरै दिन टिक्दैन, सबैलाई थाहा छ,’ उनले भने, ‘संसदको समितिमा विचाराधिन भएका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न पाइँदैन। कानूनको खुलेआम उलङघन गरेर सरकार अगाडि बढेको छ। कानूनको रक्षक हुनुपर्ने सरकार आफैं भक्षक हुन पुगेको छ।’

Laxmi sunrise bank 2034

अध्यक्ष नेपालले संसदको बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर अध्यादेश ल्याउने काम गर्नुको पछाडि राम्रो नियत नभएको पनि बताए।

‘संसदको नियमित अधिवेशनमा कानूनमा सुधार गर्नुछ भने त्यसको प्रक्रियाबाट जानुपर्नेमा संसद नै छलेर संसदको बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर जसरी अध्यादेश ल्याउने काम भएको छ। यसका पछाडि राम्रो नियत देखिँदैन,’ उनले भने।

उनले पार्टीबाट जानेहरु घर न घाटको भएको भन्दै समय मिलाएर कसैले थाहा नपाउने गरी भेट्ने कुरा भएको पनि बताए।