वामदेव भन्छन्– काम नदिए समाजवादीमा धेरै बस्दिनँ

काठमाडौं — नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतमले आफूलाई काम नदिए लामो समय पार्टीमा बस्न नसक्ने बताएका छन्।

बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा उनले आफूलाई पार्टीमा पदभन्दा काम दिन अनुरोध गरे। उनले काम गर्न समाजवादीमा आएको बताए।

Shivam Cement

‘मलाई काम दिनुस्। एउटा क्षेत्रको नेतृत्व दिनुस्। एउटा जिल्ला, दुइटा जिल्ला वा आधा जिल्ला। कि एउटा पालिका। अथवा जनवर्गीय संगठन, सामाजिक संगठन, विभाग यी संरचनाहरु छन् । जो संरचनाभित्र रहेर त्यसको जिम्मेवार भएर काम गर्छु,’ नेता गौतमले भने,’ ‘मैले पहिले नै भनेको छु। मलाई काम दिनुस् । काम दिनको निम्ति तपाईंहरुले कुन पद सिर्जना गर्नुपर्छ? कामसहितको सिर्जना गरिदिनुस् । काम बिनाको पद चाहिँदैन। यदी तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरुसँग बस्न सक्दिनँ।’

वरिष्ठ नेता गौतमले नेपालमा संविधानमा लेखेको समाजवाद निर्माण गरेर संसारका सबैभन्दा विकसित समाजमा पुर्‍याउनुपर्ने बताए। गौतमले साउन २ गते आफू नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टी एकीकृत समाजवादीसँग एकता गरेका थिए।