प्रचण्डको जिकिरः विद्याको चुनौतीपछि ओलीले ‘मदनका ४ वटा श्रीमती थिए’ भन्दिए

काठमाडौं — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेस र एमाले निकै ठूलो वैचारिक राजनीतिक संकटमा रहेको बताएका छन्।

काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसमा बीपी, गिरिजा जस्ता नेताहरूको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको खडेरी परेको बताए।

खासगरी एमाले झन ठूलो वैचारिक, राजनीतिक र नेतृत्वको संकट देखिएको उनको जिकिर थियो। ‘म योभन्दा बढी अहिले भन्दिनँ र त्यही कुरा एमाले भित्र झन् ठूलो वैचारिक, राजनीतिक र नेतृत्वको संकट अहिले देखिएको छ।’ उनले वैचारिक संकट नभएको एक मात्र पार्टी माओवादी केन्द्र भएको दाबी गरे।

Shivam Cement

‘हामीले आठौं महाधिवेशनले गरेको निर्णय समाजवादी क्रान्ति सम्बन्धी सर्वसम्मत निर्णय छ, त्यहाँ अहिलेसम्म कसैले विमति राखेको छैन। केही महिना अगाडि केन्द्रीय समितिको बैठक पनि सर्वसम्मत निर्णयबाट भएको छ र हामी अभियानमा छौं।’

मदन भण्डारी र जनताको बहुदलीय जनवाद (जबज)को आधारमा टिकेको एमालेमा अहिले उत्तराधिकारीको संकट देखिएको प्रचण्डले बताए। उनले एमालेमा सुरु भएको विवादले ठूलै संकट निम्त्याउने ठोकुवा गरे।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जबजको उत्तराधिकारी दाबी गरेपछि ओलीले- ‘मदन भण्डारीका ४ वटा श्रीमती थिए भन्ने आरोप लाग्ने गरेको’ भन्ने अभिव्यक्ति दिएको टिप्पणी गरे।

प्रचण्डले भने, ‘अस्ति प्रधानमन्त्रीले मदन भण्डारीसँग सम्बन्धित एउटा स्मृति कार्यक्रममा- मदन भण्डारीका ४ वटा श्रीमती थिए र सहकारी ठगीको आरोप थियो, भनेर कुराबाट सुरु भएको त्यो प्रक्रिया अहिले पक्कै पनि पूर्व राष्ट्रपति विद्या भण्डारीजीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारी मै हो भन्ने ढंगले उहाँ अगाडि आउनु भएको छ र यो संकट गहिरिने देखिएको छ।’