काठमाडौं – चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला नजिक पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । बिहीबारदेखि लगातार परिरहेको वर्षाका कारण शुक्रबार बिहान उक्त क्षेत्रमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार पहिरोका कारण सडकका दुबै तर्फका सवारीसाधन रोकिएका छन्। यात्रुहरू केही घण्टादेखि सडक खुल्ने प्रतीक्षामा छन् ।
“निरन्तर वर्षाले माटो कमजोर बनेर पहिरो खसेको हो,” डीएसपी खनालले बताए । “पहिरो पन्छाएर सडक सुचारु गर्न प्रहरी, सशस्त्र प्रहरी र सडक विभागका कर्मचारी परिचालन गरिएको छ ।”
सडक सुचारु गर्न डोजर सहितको मेसिनरी प्रयोग भइरहेको र मौसम अनुकूल भएमा आजै आवागमन खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । उक्त सडकखण्ड अवरुद्ध हुँदा काठमाडौं, पोखरा र तराईका विभिन्न क्षेत्रतर्फ गएका सवारीसाधन बीचमै रोकिएका छन्, जसका कारण यात्रुहरू प्रभावित भएका छन् ।



