कञ्चनपुर – जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ हुँदै बग्ने वनहरा नदीमा दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पक्की पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रु २५ करोड ९६ लाख ३८ हजार ३४० लागतमा निर्माण भइरहेको सो पुलको करिब ९० प्रतिशत काम सकिएको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले जानकारी दिए ।
इन्जिनियर चन्दका अनुसार पुलसँगै नदी नियन्त्रणका लागि तटबन्ध निर्माण पनि एकसाथ अघि बढाइएको छ । “नदी नियन्त्रणको आधा काम सकिएको छ र बाँकी आधा काम पनि तीव्र गतिमा भइरहेको छ,” उहाँले बताउनुभयो। आयोजनाले आगामी मङ्सिरभित्र पुल र तटबन्ध दुबै निर्माण कार्य पूरा गर्ने लक्ष्य राखेको छ ।
पुल निर्माण सम्पन्न भएपछि दुवाहा, दमलपट्टी र चित्रपुरका बासिन्दालाई आवतजावत सहज हुने र कृषि उपज तथा दैनिक उपभोगका सामग्री ढुवानीमा समय र खर्च दुबै बचत हुने अपेक्षा गरिएको छ । स्थानीयवासीले पुल निर्माणपछि नदी पार गर्नका जोखिम कम हुने र बाढीका बेला यातायात अबरुद्ध नहुने विश्वास व्यक्त गरेका छन् ।



