काठमाडौँ, — नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रभावका कारण देशका पश्चिमी तथा पहाडी भूभागमा बदली र वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका एकदुई स्थानमा समेत हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले जारी गरेको विज्ञप्तिअनुसार आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । रातिको समयमा पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ ।
मौसमविद्हरूले हालको मौसमीय अवस्था सामान्य परिवर्तनशील रहेको र पश्चिमी वायुको प्रभाव केही दिन रहन सक्ने बताएका छन् ।



