विद्युतीय सवारी, इन्डक्सन चुलो र चार्जिङ स्टेसनले विद्युत् माग बढाउने : ऊर्जामन्त्री कुलमान घिसिङ

काठमाडौँ, — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्रै खपत बढाउन प्राथमिकता दिइएको बताएका छन्।

मन्त्री घिसिङले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा विद्युत् खपत बढाउने विभिन्न पहलबारे जानकारी दिएका हुन् । उनका अनुसार विद्युतीय सवारी साधनको प्रयोग प्रोत्साहन गर्न चार्जिङ स्टेसन स्थापना, खाना पकाउन काठदाउरा र ग्याँसको सट्टा इन्डक्सन चुलो प्रयोगजस्ता उपायहरू अघि बढाइएको छ ।

“अहिले वर्षायाममा अतिरिक्त विद्युत् भारत र बंगलादेशमा निर्यात त गरिरहेका छौं, तर मुख्य प्राथमिकता देशभित्र खपत बढाउने हो । चार्जिङ पूर्वाधार विस्तार र विद्युतीय चुलोको प्रयोगले यसमा ठूलो योगदान पुग्छ,” मन्त्री घिसिङले भने ।

ऊर्जाको दक्षता, रुपान्तरण र आन्तरिक माग बढाउने कार्ययोजना समेत अघि बढाइएको उनले उल्लेख गरे । साथै, वायु र सौर्य ऊर्जामा निजी लगानी प्रोत्साहन गर्न इच्छुक कम्पनीलाई सहयोग गर्न विद्युत खरिद–बिक्री सम्झौता (एएब्) गर्न तयार रहेको मन्त्री घिसिङले जानकारी दिए ।

कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले स्वच्छ ऊर्जा र दुर्गम क्षेत्रमा विद्युतीकरणमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको योगदानको प्रशंसा गरे ।

जर्मनीका लागि नेपालका राजदूत उडो युजेन भोल्जले नेपालमा दिगो ऊर्जा विकास, न्यून कार्बन उत्सर्जन, ऊर्जा रुपान्तरण र जीविकोपार्जन सुधारमा सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो। जर्मनीले नेपाललाई प्राविधिक र वित्तीय दुवै क्षेत्रमा ऊर्जा क्षेत्रमा सहयोग गर्दै आएको छ।