काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा

काठमाडौँ – अब काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललगायत संवेदनशील, महत्वपूर्ण तथा सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा वाइफाइ विस्तार गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यसअघि वाइफाइ सुविधा भएका स्थानमा मर्मत, गुणस्तर सुधार र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ नयाँ स्थानमा वाइफाइ जडान गरिएको छ ।

अब काठमाडौँको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ स्थापना र क्षमता विस्तारसहित वाइफाइ सेवा सञ्चालनमा आएको छ । त्यसैगरी ठूलोभ¥याङ र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा क्षमता अभिवृद्धिको काम भइरहेको छ भने भक्तपुरको राधेराधेस्थित यातायात कार्यालयमा नयाँ स्थापना भइरहेको मन्त्रालयले जनाएको छ ।

निःशुल्क वाइफाइको दिगोपनाका लागि सम्बन्धित संस्थाले सेवाप्रदायक कम्पनीसँग सम्झौता गरिसकेका छन् । नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले संयुक्त रूपमा वाइफाइ सेवा विस्तारमा सहकार्य गरेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरिएको हो । प्राधिकरणका अनुसार वीर अस्पताल, परोपकार प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्मभक्त माथेमा उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा ब्याण्डविथ १० एमबिपिएसबाट बढाएर १५० एमबिपिएस गरिएको छ । साथै, प्रत्येक डिभाइसका लागि उपलब्ध डाटा १०० एमबीबाट बढाएर ५०० एमबी गरिएको छ ।

नेपाल टेलिकमले काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित ३५ वटा विमानस्थलमा निःशुल्क वाइफाइ सेवा विस्तार गर्ने कार्ययोजना समेत बनाएको छ । भक्तपुर क्यान्सर अस्पतालमा छवटा र कीर्तिपुर अस्पतालमा पाँचवटा एक्सेस प्वाइन्टमार्फत सेवा सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ ।

गत असोज ६ गते मन्त्री बनेका खरेलले मन्त्रालयमा पदभार ग्रहणका क्रममा पहिलो निर्णयका रूपमा दुई महिनाभित्र उपत्यकाका प्रमुख सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ सेवा सुरु गर्ने निर्णय गरेका थिए । मन्त्रालयका अनुसार अब उपत्यका बाहिरका १० सहरमा पनि निःशुल्क वाइफाइ सेवा विस्तारको तयारी भइरहेको छ ।

निःशुल्क वाइफाइ सेवा सञ्चालनको अनुगमनका लागि मन्त्री खरेल नेतृत्वको टोली आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भ्रमण गर्ने कार्यक्रम छ ।