काठमाडौँ — काठमाडौँ महानगरपालिकाले अबदेखि आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रहरूबाट निःशुल्क वितरण गरिने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट उपलब्ध गराउने भएको छ ।
यसका लागि महानगरको स्वास्थ्य विभाग र सिंहदरबार वैद्यखाना बीच सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत लागत मूल्यमा औषधि उपलब्ध गराउने सम्झौता सम्पन्न भएको महानगरपालिकाले जनाएको छ ।
कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीका अनुसार, आगामी दिनमा आधारभूत स्वास्थ्य सेवाअन्तर्गत आयुर्वेदिक औषधि वितरण कार्यमा सहजता आउने विश्वास गरिएको छ ।
त्यस्तै, कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीले अहिले महानगरले सञ्चालन गरिरहेका आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रहरूमा नेपाल सरकारले निःशुल्क वितरणका लागि तोकेका औषधि वैद्यखानाबाट नै उपलब्ध गराउने तयारी गरिएको बताए। उनका अनुसार, वैद्यखानाबाट औषधि उपलब्ध नहुँदासम्म अन्य स्रोतबाट आपूर्ति गर्ने व्यवस्था पनि मिलाइएको छ ।
यसअघि महानगरले यस्तै प्रकारको सहकार्य नेपाल औषधि लिमिटेडसँग पनि गरिसकेको थियो। नयाँ सम्झौता अनुसार, वैद्यखानाले औषधिको कम्तीमा ७५ प्रतिशत उपभोग अवधि बाँकी रहेका औषधि मागपछिको सात दिनभित्र उपलब्ध गराउनुपर्नेछ।
महानगरले उपलब्ध हुने ती औषधिहरू आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रमार्फत निःशुल्क वितरण गर्ने जनाएको छ ।
सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीले औषधिको गुणस्तरीयता र प्रभावकारितामा संवेदनशील रहँदै माग अनुसारका औषधि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।



