सिन्जामा निःशुल्क आँखा शिविरबाट २४२ जना लाभान्वित, ४८ जनाको मोतियाविन्दु शल्यक्रिया

जुम्ला — सिन्जा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना, नेपाल नेत्रज्योति सङ्घको समन्वय र हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट २४२ जना लाभान्वित भएका छन् ।

बिहीबार सम्पन्न दुईदिने शिविरमा ४८ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिए ।
शिविरमा १२६ जना महिला र ११६ जना पुरुषले सेवा लिएका थिए । बिरामीको आवतजावतदेखि आवाससम्मको खर्च गाउँपालिकाले नै व्यवस्थापन गरेको थियो ।

सिन्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार नागरिकको मागअनुसार स्वास्थ्य सेवालाई गाउँ–केन्द्रित बनाइएको हो ।

यसैबीच, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जिल्लाका १ हजार ४७० जनाको नेत्र परीक्षण गरिएको नेपाल नेत्रज्योति सङ्घले जनाएको छ । गत आर्थिक वर्षमा भने ५ हजार ७०० जनाले सेवा लिएका थिए।