सर्वोच्चको आदेशपछि पनि व्यवसायी गोल्छा किन रिहा भएनन् ?

काठमाडौं – सर्वोच्च अदालतले धरौटी वा जमानतमा छाड्न आदेश दिएपछि पनि व्यवसायी शेखर गोल्छा रिहा हुन सकेका छैनन् । उनीमाथि दुई फरक कसुरमा अनुसन्धान भइरहेकाले एक मुद्दामा आदेश आए पनि अर्को मुद्दाका कारण हिरासतमा नै रहेका हुन् ।

गोल्छाविरुद्ध धितोपत्र र बीमा सम्बन्धी दुई अलग–अलग मुद्दा चलिरहेको छ। सोमबार सर्वोच्च अदालतले धितोपत्र सम्बन्धी मुद्दामा मात्रै धरौटी वा जमानतमा रिहा गर्न आदेश दिएको थियो। तर, बीमा सम्बन्धी मुद्दामा अदालतले कुनै आदेश नदिएकाले उनी हिरासतमा नै राखिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का प्रवक्ता एसएसपी शिव श्रेष्ठका अनुसार गोल्छालाई बीमा सम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै धितोपत्र सम्बन्धी मुद्दामा धरौटी वा जमानतमा छाड्न आदेश दिएको थियो।

व्यवसायी गोल्छा वैशाख ११ गते पक्राउ परेका थिए। नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि सिआईबीले उनलाई पक्राउ गरेको हो।