काठमाडौँ — आगामी फागुन २१ गते का लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन घोषणा भएयता निर्वाचन हुने–नहुने आशंकाबीच सुरु भएको तयारी अहिले सुनिश्चिततातर्फ अघि बढ्दै गएको छ ।
निर्वाचन गराउने कार्यादेश पाएको सरकारले यसलाई प्रमुख प्राथमिकतामा राखेर अगाडि बढाएसँगै मुलुक निर्वाचनमय बनेको छ। संघीय राजधानी काठमाडौँ पनि यसको केन्द्रमा छ ।
काठमाडौँ देशकै सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला हो । यहाँ १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् र हरेक निर्वाचनमा काठमाडौँका सबै क्षेत्र राजनीतिक चासोको केन्द्र बन्ने गरेका छन् । यसपटक भने जेनजी आन्दोलनको प्रभाव र महिला निर्वाचन अधिकृतको व्यापक नेतृत्व ले निर्वाचनलाई अझ विशेष बनाएको छ ।
सरकारले काठमाडौँका अधिकांश निर्वाचन क्षेत्रको जिम्मेवारी महिलालाई सुम्पिएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ की मुख्य निर्वाचन अधिकृत चमिला भट्टराई यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताउछन् ।
“काठमाडौँ सबैभन्दा ठूलो निर्वाचन क्षेत्र भएको जिल्ला हो। यहाँका अधिकांश स्थानको जिम्मेवारी महिलालाई सुम्पिनु विश्वास र भरोसाको संकेत हो,” भट्टराईले भने,“हामीले त्यो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरिरहेका छौँ।”
महालेखा नियन्त्रक कार्यालयकी निर्देशक भट्टराई महिलालाई अवसर दिइएमा उनीहरूले जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्ने बताउछन् । बोलीमा मिठास, व्यवहारमा भावनात्मकता र सहनशीलता महिला नेतृत्वको मौलिक गुण भएको उनको धारणा छ ।
स्थानीय तह निर्वाचनको अनुभवसमेत बटुलिसक्नुभएकी उनका अनुसार महिला नेतृत्वप्रति सरोकारवालाको व्यवहार पनि अपेक्षाकृत सभ्य र शालीन हुने गरेको छ।
“रिसाएर आउने मानिसहरू पनि महिलाका अगाडि आएपछि शान्त भइदिन्छन्,” उहाँले भन्नुभयो, “स्थानीय निर्वाचनले मलाई अझ परिपक्व बनाएको छ ।”
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा मुख्य निर्वाचन अधिकृतको भूमिका निर्वाह गरिरहनुभएकी महान्यायधिवक्ताको कार्यालयकी उपन्यायाधिवक्ता शान्ति न्यौपाने ले सभ्य र शान्त वातावरणमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारीलाई प्राथमिकतामा राखेका छन् । परिवार र पेशागत दायित्व सँगसँगै निभाउँदै आफूले जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै आएको उनको भनाइ छ ।
निर्वाचन आयोगका अनुसार काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रमा महिला मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी यसरी तोकिएको छ ः
काठमाडौँ–४ मा उपन्यायाधिवक्ता कृष्णा भण्डारी, काठमाडौँ–५ मा उपसचिव श्रद्धा रिजाल, काठमाडौँ–६ मा उपन्यायाधिवक्ता चपला पोखरेल, काठमाडौँ–७ मा उपन्यायाधिवक्ता सविता शर्मा, काठमाडौँ–८ मा उपसचिव सम्झना खनाल, काठमाडौँ–९ मा उपसचिव मेनुका घिमिरे र काठमाडौँ–१० मा सर्वोच्च अदालतकी उपरजिस्ट्रार अमृताकुमारी शर्मा मुख्य निर्वाचन अधिकृतका रूपमा कार्यरत छन् ।
काठमाडौँ बाहिर पनि महिला नेतृत्वमा निर्वाचन व्यवस्थापन भइरहेको छ । पर्सा–४ मा नुतन झा, सिन्धुली–१ मा निमा घिमिरे, नवलपरासी (बर्दघाट)–२ मा सीता अधिकारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ मा इन्दुदेवी न्यौपाने, कास्की–१ मा सीता रेग्मी मुख्य निर्वाचन अधिकृत छन् ।
यसैगरी मकवानपुर–१ मा जिल्ला अदालतकी न्यायाधीश गीता श्रेष्ठ, सिन्धुपाल्चोक–२ मा न्यायाधीश रीताकुमारी बख्रेल, बागलुङ–१ मा न्यायाधीश सीता शर्मा अधिकारी, भक्तपुर–२ मा राधिका सुवाल, ललितपुर–१ मा इशा सुवेदी र ललितपुर–२ मा सम्झना सिम्खडा पुडासैनी मुख्य निर्वाचन अधिकृतका रूपमा खटिएका छन् ।
महिला नेतृत्वमा भइरहेको निर्वाचन व्यवस्थापनले निर्वाचनलाई थप शान्त, सभ्य र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ । अब फागुन २१ गतेको मतदानमार्फत जनताले आफ्नो प्रतिनिधि चयन गर्ने निर्णायक घडी नजिकिँदै गएको छ ।



