नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की

काठामडौं   —  नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रस्टी) ले विश्वविद्यालयको उप-कुलपति र रजिस्ट्रार नियुक्त गरेको छ।

नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा वरिष्ठ चिकित्सक तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उप-कुलपति डा. अर्जुन कार्की उप-कुलपतिमा र सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ डा. सूर्यराज आचार्य रजिस्ट्रारमा नियुक्त भएका हुन्।

सिफारिस समितिले सार्वजनिक सूचनामार्फत प्राप्त आवेदनहरूमध्येबाट योग्य उम्मेदवारहरूको संक्षिप्त सूची तयार गरी कार्यपत्र प्रस्तुति र अन्तर्वार्ता सञ्चालन गरेको थियो।

सोही प्रक्रियाबाट सर्वोत्कृष्ट उम्मेदवारको नाम सिफारिस गरिएको हो। यसअघि, संरक्षक परिषद्ले एसियाली विकास बैङ्कका पूर्व उपाध्यक्ष डा. विन्दुनाथ लोहनीलाई विश्वविद्यालयको पहिलो कुलपतिका रूपमा चयन गरिसकेको छ।

Laxmi sunrise bank 2034

नेपाल विश्वविद्यालय ऐन, २०८१ अनुसार गठित संरक्षक परिषद्का सदस्यहरूमा डा. राम मनोहर श्रेष्ठ, डा. शिवा थापा, डा. जगदीश चन्द्र पोखरेल, डा. विपिन अधिकारी, डा. विमला राई पौड्याल, लक्ष्मीदेवी पाण्डे, इन्जिनियर लाल कृष्ण केसी, माधव प्रसाद पौडेल, रामेश्वर खनाल र चाँदनी जोशी रहेका छन्।

सार्वजनिक र गैरनाफामूलक प्रकृतिको नेपाल विश्वविद्यालयले अन्तरविधात्मक अवधारणामा आधारित उच्च गुणस्तरको अनुसन्धानमूलक र व्यवहारिक शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।

विश्वविद्यालयले सक्षम, जिम्मेवार, सृजनशील, उद्यमशील र प्रतिस्पर्धी जनशक्ति उत्पादन गरी राष्ट्र निर्माणमा योगदान पुर्‍याउने उद्देश्य लिएको छ।