काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट २ महिला स्वतन्त्रसहित १८ जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रदेशका नौ जिल्लामा रहेका १६ निर्वाचन क्षेत्रका लागि उम्मेदवारी परेको छ ।
प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार, कैलालीमा ११, कञ्चनपुरमा ६ र डोटीमा १ महिला उम्मेदवार परेका छन् । सुदूरपश्चिममा कुल २१० उम्मेदवार दर्ता भएका थिए, जसमा एक जनाको उम्मेदवारी रद्द र तीन जनाले फिर्ता लिएका छन् ।
महिला उम्मेदवारमध्ये कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा बिना मगर (नेकपा), सीता विक (आमजनता पार्टी), मञ्जुदेवी सुनार (स्वतन्त्र) र रुपादेवी विष्ट उम्मेदवार छन् । क्षेत्र नं २ मा प्रेमवती राना (नागरिक उन्मुक्ति पार्टी) र क्षेत्र नं ३ मा लक्ष्मीकुमारी विष्ट (आमजनता पार्टी) प्रतिस्पर्धा गरिरहेका छन्।
कैलालीमा पनि महिला उम्मेदवार सक्रिय छन् । क्षेत्र नं १ मा रुपाकुमारी चौधरी (आमजनता पार्टी), कोमल ज्ञवाली (रास्वपा), सुनिता भण्डारा (नेपाल मजदुर किसान पार्टी) उम्मेदवार छन् भने क्षेत्र नं २ मा सम्झना विष्ट थापा (मितेरी पार्टी) र लक्ष्मी पुन मगर (नेपाल मजदुर किसान पार्टी) छन् । क्षेत्र नं ३–५ मा पनि विभिन्न दलबाट महिला उम्मेदवारले चुनावी प्रचारमा सक्रिय छन् ।
सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये डोटीमा एक महिला उम्मेदवार मात्र छन्, जसमा सरस्वतीकुमारी पाल (मल्ल, मितेरी पार्टी नेपाल) चुनावी मैदानमा छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार सुदूरपश्चिममा कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन् ।



