काठमाडौँ — काठमाडौँ महानगरपालिकाले विद्युतीय शासन प्रणालीलाई थप मजबुत बनाउन ७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट सेवा जडान प्रक्रिया अघि बढाएको छ ।
महानगरले आफ्ना मातहतका स्वास्थ्य प्रवद्र्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा फाइबर टू द होम (एफटिटिएच) प्रणालीमार्फत ब्रोडब्यान्ड इन्टरनेट जडान सुरु गरेको हो ।
कामपाको प्रशासन शाखा प्रमुख ध्रुवकुमार काफ्लेले यसअघि वडामा प्रयोग भइरहेको २० एमबिपिएस क्षमताको लिज लाइनको लागत बढी भएकाले नयाँ प्रणाली अपनाइएको जानकारी दिए । उनका अनुसार अहिले जडान भइरहेको इन्टरनेट सेवामा आवश्यकताका आधारमा केन्द्रहरूमा एक जिबिपिएससम्मको आधारभूत तथा प्रिमियम सेवा र ५०० एमबिपिएस क्षमताको इन्टरनेट जडान गरिएको छ ।
“२४ घण्टा निरन्तर प्रयोग गर्न सकिने यो सुविधा आगामी साउन मसान्तसम्म रहनेछ,” काफ्लेले बताए ।
महानगरले जडान गर्न लागेको यो इन्टरनेट सेवा ३२ वटा वडा कार्यालय, २४ वटा स्वास्थ्य प्रवद्र्धन केन्द्र, बागदरबार, टेकु ट्रान्सफर स्टेसन, महानगर प्रहरी बल (पूर्व क्षेत्र), बग्गीखाना, बसपार्क, सोह्रखुट्टे, बारुण यन्त्र कार्यालय (नयाँ सडक, बालाजु र रामहिटी बौद्ध), हनुमानढोका दरबार संरक्षण कार्यक्रम, रानीपोखरी, बसन्तपुर, बालाजु पार्क, शङ्खपार्कलगायत ७१ केन्द्रमा स्थापना गरिनेछ ।
उक्त सेवा प्रवाहका लागि काठमाडौँ महानगरपालिकाले नेपाल टेलिकमसँग सम्झौता गरिसकेको छ । सम्झौतापत्रमा कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय बाग्मती प्रदेशका निर्देशक इन्दल यादवले हस्ताक्षर गर्नुभएको काफ्लेले जानकारी दिए ।



