काठमाडौं – काठमाडौँ महानगरपालिकाले थालनी गर्न लागेको सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना स्वयंसेवक छनोट भएका छन् । सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीका अनुसार, सार्वजनिक सूचना आह्वानपछि ११९ जनाले आवेदन दिएका थिए । उनीहरू मध्ये ५२ जना पुरुष र १३ जना महिला गरी योग्यता पुगेका ६५ जनालाई छनोट गरिएको हो ।
छानिएका स्वयंसेवक स्वास्थ्य (पब्लिक हेल्थ, मेडिकल हेल्थ, मनोविद्, मनोचिकित्सक, भेटनरी हेल्थ), शिक्षा, कृषि, पर्यटन, सूचना प्रविधि, सुरक्षा, वाणिज्य, भौगोलिक सूचना प्रणाली, इलेक्ट्रिक लगायत विभिन्न क्षेत्रमा दक्ष छन् ।
सिल्भर भोलेन्टियर परिचालन कार्यविधि, २०७७ अनुसार, स्वयंसेवक हुनुका लागि नेपाली नागरिक, गैरआवासीय नेपाली वा प्रचलित कानुनअनुसार स्वीकृति प्राप्त विदेशी नागरिक हुनुपर्छ । उमेर ४५–७५ वर्ष बीच, कम्तीमा २० वर्ष सरकारी, निजी वा गैरसरकारी संस्थामा काम गरी दक्षता हासिल गरेको, हप्तामा न्यूनतम ५ घण्टा सेवा दिन तयार र शारीरिक तथा मानसिक रूपमा सक्षम हुनुपर्ने छ। साथै, फौजदारी अभियोगमा दोषी नठहरिएको हुनुपर्ने व्यवस्था छ ।
कार्यक्रम सञ्चालन संयन्त्र अन्तर्गत, सहरी योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा समिति गठन हुनेछ। समितिमा नगर कार्यपालिकाका एक सदस्य, सम्बन्धित क्षेत्रका विज्ञहरूबाट दुई सदस्य (एक महिला) र आयोगका सदस्यहरूमा उपाध्यक्षले तोकेको सदस्य रहने व्यवस्था छ। साथै, सामाजिक विकास विभागका सदस्य र आयोगका अधिकृत सदस्य–सचिव पदेन सदस्य रहनेछन्।
सिल्भर भोलेन्टियरहरू सामुदायिक शैक्षिक र स्वास्थ्य संस्था, सार्वजनिक स्थल तथा यातायात व्यवस्थापन, वातावरण व्यवस्थापन र सार्वजनिक सेवा सहजीकरणका क्षेत्रमा सेवा प्रदान गर्नेछन्। यस कार्यक्रमले सामाजिक सेवा तथा साना घरेलु उद्योगको सेवाको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ ।
यसरी लामो समय काम गरी सेवा निवृत्त भएका अनुभवसम्पन्न व्यक्तिहरूलाई समावेश गर्दै काठमाडौँमा सामाजिक सेवा प्रवद्र्धन र दक्षता अभिवृद्धि गर्ने प्रयास अघि बढाइएको छ।



