काठमाडौं – काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१\०८२ को अन्तिम लेखा परीक्षण कार्य सुरु गरेको छ । महालेखा परीक्षकको कार्यालयका निर्देशक मुकुन्द घिमिरेको नेतृत्वमा खटिएको टोलीले बिहिबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँग प्रवेश बैठक गरी लेखा परीक्षण प्रक्रिया प्रारम्भ गरिएको हो ।
प्रवेश बैठकमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले गरेका कामबारे स्पष्ट सञ्चार हुन नसक्दा र मागिएका विवरण समयमै उपलब्ध नगराउँदा बेरुजु बढ्ने अवस्था सिर्जना हुने भन्दै विभागीय प्रमुखहरूलाई आवश्यक विवरण, आधार, प्रमाण र कारण तत्काल उपलब्ध गराउन निर्देशन दिए ।
बैठकमा महानगरपालिकाको संगठन संरचना, दरबन्दी, विस्तार गरिएका सेवासँग सम्बन्धित जनशक्ति, जारी गरिएका कानुन, अधिकार प्रत्यायोजनको अवस्था तथा वित्तीय सुशासनका लागि आन्तरिक नियन्त्रण प्रणालीबारे जानकारी दिँदै प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले माग गरिएका कागजात तत्काल उपलब्ध गराउने गरी जनशक्ति खटाइने बताए ।
महालेखा परीक्षकको कार्यालयका निर्देशक घिमिरेले लेखा परीक्षणसँगै समपरीक्षणको काम पनि सँगै अघि बढाइने जानकारी दिँदै यसबाट विगतका बेरुजु घट्ने सम्भावना रहेको बताए । उनले पेश्की र राजस्व बेरुजु घटाउन विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।
अन्तिम लेखा परीक्षणका क्रममा वित्तीय विवरण, अघिल्ला परीक्षणबाट औँल्याइएका विषय, सुधारका लागि दिइएका सुझाव, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कानुनअनुसारका प्रक्रिया र पद्धतिहरूको समीक्षा गरिनेछ । साथै, वित्तीय प्रक्रिया सञ्चालन गर्दा हुन सक्ने जोखिम, आन्तरिक नियन्त्रण प्रणाली, आन्तरिक लेखा परीक्षणको प्रभावकारिता र वित्तीय जोखिमको अवस्थाको समेत मूल्याङ्कन गरिने जनाइएको छ ।
केन्द्र, वडा तथा खर्च हुने सबै एकाइबाट सञ्चित रकम खर्च गर्दा अपनाइनुपर्ने नियमितता, मितव्ययिता र कार्यदक्षताको परीक्षण गर्ने गरी लेखा परीक्षण योजना बनाइएको छ । महानगरपालिकाले वित्तीय सुशासनका लागि पूर्व लेखा परीक्षण, आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण गरी तीन चरणमा लेखा परीक्षण गर्दै आएको छ । आ.व. २०७१\०७२ को नगरपरिषद् (तत्कालीन) को निर्णयअनुसार १ लाख ५० हजार रुपैयाँसम्मका भुक्तानीमा पूर्व लेखा परीक्षण गरिँदै आएको छ भने आन्तरिक लेखा परीक्षणका लागि छुट्टै एकाइ रहेको छ ।
आ.व. २०७३\०७४ (२०७४ वैशाख) देखि महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखा परीक्षण हुँदै आएको छ । यसअघि अनुमति प्राप्त लेखा परीक्षकमार्फत अन्तिम लेखा परीक्षण हुने गरेको थियो ।
आर्थिक प्रशासन महाशाखा प्रमुख श्यामप्रसाद न्यौपानेका अनुसार महानगरपालिकाको केन्द्र, ३२ वटा वडा, हनुमान ढोका दरबार संरक्षण कार्यक्रम र जग्गा एकीकरण आयोजना गरी कुल ३५ वटा एकाइको छुट्टाछुट्टै परीक्षणबाट प्रारम्भिक प्रतिवेदन तयार गरिनेछ ।
न्यौपानेका अनुसार गत वर्ष विनियोजित २५ अर्ब ८६ करोड ५२ लाख रुपैयाँमध्ये ५२.१२ प्रतिशत अर्थात् १३ अर्ब ३ करोड ६९ लाख १३ हजार रुपैयाँ खर्च भएको छ । यसमध्ये चालुतर्फ ६ अर्ब २२ करोड ९० लाख १६ हजार रुपैयाँ, पुँजीगततर्फ ६ अर्ब ७३ करोड ७८ लाख ९६ हजार रुपैयाँ र वित्तीय खर्चतर्फ ७ करोड रुपैयाँ खर्च भएको हो ।
क्षेत्रगत रूपमा आर्थिक विकास क्षेत्रमा ३७.६७ प्रतिशत, सामाजिक विकास क्षेत्रमा ४७.९१ प्रतिशत, पूर्वाधार विकास क्षेत्रमा ५२.५२ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २८.८८ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ७७.०२ प्रतिशत खर्च भएको छ ।



