बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, मेयर बालकृष्ण बस्नेतले पाँच करोड घुस लिएको आरोप

सिन्धुपाल्चोक – बाह्रबिसे नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले आइतबार छापा मारेको छ ।

अख्तियारका अनुसार नगरपालिकामा अनियमितता भएको भन्ने गुनासो र उजुरीहरू पटक–पटक दर्ता भएपछि टोली खटाइएको हो । टोलीले नगरपालिकाको कार्यालयमा छापा मार्दै विभिन्न कागजातहरू नियन्त्रणमा लिएको जनाएको छ ।

स्रोतका अनुसार नगरपालिकाका मेयर बालकृष्ण बस्नेतमाथि भोटेकोशी जलविद्युत् आयोजनासँग अस्पतालका नाममा पाँच करोड रुपैयाँ लिएको र उक्त रकम हिनामिना गरेको आरोप लागेको छ । उजुरीमा उल्लेख भएअनुसार, ‘अस्पताल निर्माणका लागि रकम मागी धम्क्याएर उठाइएको’ बताइएको छ ।

छापा मार्ने क्रममा अख्तियारको टोलीले २० लाख रुपैयाँको मात्र लेखाजोखा भेटिएको र बाँकी रकमबारे कुनै विवरण नपाइएको स्रोतले जानकारी दिएको छ ।

“प्रारम्भिक अनुसन्धानका क्रममा २० लाखको हरहिसाब देखिन्छ, बाँकी रकम कहाँ गयो भन्ने उल्लेख छैन,” स्रोतले भन्यो।

अख्तियारले सो सम्बन्धमा थप विवरण संकलन र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।