सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै काठमाडौँ महानगर

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रमा जडान हुने सिसीटिभी क्यामराका दृश्य सुरक्षित र प्रभावकारी रूपमा सञ्चारण गर्न नेपाल टेलिकमसँग सहकार्य अघि बढाएको छ ।

कामपाको प्रशासन विभागका प्रमुख धुव्रकुमार काफ्लाका अनुसार वडा कार्यालयहरूमा सिसीटिभी नेटवर्कका लागि अप्टिकल फाइबर र एफटिटीएच (फाइबर टु द होम) मार्फत इन्टरनेट उपलब्ध गराउने तयारी टेलिकमसँगको सहकार्य अन्तर्गत सुरु गरिएको हो ।

कामपा र टेलिकमबीच सिसीटिभी दृश्यहरू निगरानी कक्षसम्म पु¥याउन आवश्यक नेटवर्क सञ्चालनसम्बन्धी सम्झौता भइसकेको छ । सम्झौताअनुसार टेलिकमले नियमित मर्मतसम्भार, आकस्मिक क्षति पुनःस्थापना, प्राविधिक सेवा, नेटवर्क निगरानी र अवरुद्ध सेवा समाधानको जिम्मेवारी लिने छ ।

महानगरपालिकाले सिसीटिभी क्यामरा, राउटरलगायतका उपकरण उपलब्ध गराउने छ भने टेलिकमले भविष्यमा आवश्यक पर्ने उच्च गतिको ब्याण्डविथ उपलब्ध गराउँदै प्रविधि अद्यावधिक गर्नेछ ।

सहरलाई सुरक्षित र स्मार्ट सहरमा रूपान्तरण गर्ने उद्देश्यले गरिएको यो सहकार्य प्रभावकारी हुने विश्वास कामपाका अधिकारीहरूले व्यक्त गरेका छन् । सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार टेलिकमसँग पहिल्यैको अप्टिकल फाइबर सञ्जाल उपलब्ध भएकाले महानगरले आफ्ना विद्यमान सिसीटिभीका दृश्य तुरुन्त प्राप्त गर्न सक्ने अवस्था बनेको छ ।

सम्झौता अनुसार महानगरले सञ्चालन गर्ने सर्भेलेन्स रुममा सिसीटिभीका दृश्य पु¥याउन जिपीओएन (जिगाबिट प्यासिभ अप्टिकल नेटवर्क) प्रयोग गरिनेछ । वडा कार्यालय, विभाग तथा माग भएका स्थानहरूमा जडान भएका तथा जडान हुँदै गरेका सबै सिसीटिभी यही प्रणालीमार्फत जोडिने व्यवस्था मिलाइनेछ ।

काठमाडौँलाई स्वचालित, सुरक्षित र व्यवस्थित बनाउँदै प्रविधिमैत्री सहर निर्माणतर्फ सहयोग पुग्ने विश्वास गरिएको छ ।