काठमाडौँ, – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार बागमती नदी करिडोर क्षेत्रमा फोहरमैला व्यवस्थापन, ढल व्यवस्था तथा सडक स्तरोन्नति कार्यको स्थलगत निरीक्षण गरेका छन् ।
सचिव गोपाल सिग्देल, सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाललगायत सम्बन्धित निकायका प्रतिनिधिहरूसहितको टोलीले गुहेश्वरीदेखि सुन्दरीजलसम्मको नदी किनार तथा सडक अवस्थाको अवलोकन गरेका थिए । टोलीले ढल व्यवस्थापन, सडक विस्तार, मर्मत–सम्भार तथा फोहर व्यवस्थापनसम्बन्धी विभिन्न चुनौतीबारे प्रत्यक्ष जानकारी लिएको हो ।
निरीक्षणपछि मन्त्री घिसिङले बागमती नदी करिडोरमा दीर्घकालीन समाधान आवश्यक रहेको र देखिएका समस्या तत्काल समाधानतर्फ सरकार अघि बढ्ने प्रतिबद्धता जनाए । उनले सडक विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत विकास समितिबीच देखिएको समन्वय अभाव छिट्टै समाधान गरिने बताए ।
उनले भने, “उपत्यकाका नदी सफा भए मात्र शहर सफा हुन्छ। ढल व्यवस्थापनलाई दीर्घकालीन दृष्टिकोणसहित अघि बढाइरहेका छौँ । चरणबद्ध रूपमा प्रशोधन केन्द्र स्थापना भइरहेको छ। नदी किनारका सडक कालोपत्रे तथा मर्मतसम्भारलाई उच्च प्राथमिकता दिएका छौँ ।”
मन्त्री घिसिङले नदी किनारमा वर्षौँदेखि बेवारिसे अवस्थामा राखिएका सवारी साधन हटाउन उपकरण उपलब्ध गराइने र स्थानीय पालिकाको सहकार्यमा ती गाडी तुरुन्त हटाउन निर्देशनसमेत दिएका थिए ।
गोकर्णेश्वर मन्दिर नजिक बागमतीको बायाँ किनारमा करिब १०० मिटर सडक फराकिलो बनाउन सके माकलबारीबाट सिधै गोकर्णेश्वरतर्फ सवारी चलाउन सकिने भन्दै उहाँले नेपाल ट्रष्टसँग आवश्यक समन्वय गरेर कार्य अघि बढाइने बताए ।
यस्तै, चावहिल–सुन्दरीजल सडक विस्तारका क्रममा बाँकी पुल निर्माण कार्य तत्काल अघि बढाउन सम्बन्धित निकायलाई मन्त्री घिसिङले निर्देशन दिएका छन् ।



