काठमाडौं – वसन्तपुरस्थित जीवित देवी श्रीकुमारीको वासस्थान ‘कुमारी घर’बाट वि.सं. २०५६ तिर चोरी भएको ऐतिहासिक तोरण आगामी मंसिर ५ गते पुनःस्थापना गरिने भएको छ । युकेको बाराकाट ग्यालरीमा भेटिएर नेपाल फर्काइएको सो तोरण हाल राष्ट्रिय संग्रहालय छाउनीमा सुरक्षित राखिएको छ।
उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा सोमबार बसेको काठमाडौँ महानगरपालिकाको बैठकले समुदायको सहभागितामा तोरणलाई पुनःस्थापना गर्ने निर्णय गरेको हो। बैठकमा उपप्रमुख डंगोलले सम्पदा केवल संग्रहालयमा राखेर भन्दा समुदायमै राख्दा सुरक्षित हुने धारणा व्यक्त गर्दै, चोरी भएका सम्पदाको पहिचान भइसकेकाले वडाको नेतृत्वमा पुनःस्थापना अभियान सञ्चालन गरिने जानकारी दिनुभयो।
उहाँले वसन्तपुर क्षेत्रमा आधुनिक सुरक्षासम्बन्धी प्रविधि र निगरानी प्रणाली प्रभावकारी भएकाले तोरण पुनःस्थापना गर्दा सुरक्षाको चिन्ता नरहेको बताउनुभयो। “कुमारी घरको तोरण सुरक्षित राख्न समुदाय सचेत र सक्षम छ, अब डराउनुपर्ने अवस्था छैन,” उपप्रमुख डंगोलले भन्नुभयो।
यसअघि कुमारी बहालको तोरण तथा मञ्जुश्री नकःमहाविहारका दाताको मूर्ति २०७८ चैत ४ गते बेलायतबाट नेपाल फर्काइएका थिए। चोरी तथा तस्करी भएका सम्पदा फिर्ता ल्याउन सन् १९७० को युनेस्को महासन्धिको उपयोग भइरहेको छ, जसलाई १४५ देशले मान्यता दिएका छन्। उक्त महासन्धिले सांस्कृतिक सम्पत्तिको अवैध आयात, निर्यात तथा स्वामित्व हस्तान्तरणलाई रोकथाम गर्छ।
प्राचीन स्मारक ऐन २०१३ अनुसार १०० वर्षभन्दा पुराना संरचना सम्पदा मानिन्छन्। कुमारी बहाल राजा जयप्रकाश मल्लको पालामा वि.सं. १८१४ मा निर्माण गरिएको ऐतिहासिक धरोहर हो।
मंसिर ५ गते हुने पुनःस्थापनासँगै कुमारी घरले आफ्नो मौलिक स्वरूपमा गुमेको ऐतिहासिक सम्पदा पुनःफिर्ता पाउने भएको छ।



