साकेला गाउँपालिकामा नागरिकता सिफारिस अनलाइन प्रणालीमार्फत

खोटाङ – साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अब अनलाइन प्रणालीमार्फत उपलब्ध गराउन थालिएको छ । परम्परागत ‘म्यानुअल’ प्रक्रिया हटाउँदै गाउँपालिकाले यस सेवालाई डिजिटल माध्यमबाट सञ्चालनमा ल्याएको हो ।

गृह मन्त्रालयअन्तर्गतको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत सेवा सुरु गरिएको जानकारी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ मात्तिमका वडाध्यक्ष जीवन खत्रीले दिए । उनका अनुसार सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा उपस्थित भएर निवेदन दिएपछि वडा कार्यालयले विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्नेछ र वडाध्यक्षले त्यसलाई प्रमाणित गर्नेछन् । यसरी प्रमाणित कागजात प्रणालीमै अद्यावधिक भएपछि सोही आधारमा जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रमाणपत्र प्रिन्ट गरी उपलब्ध गराउनेछ ।

गाउँपालिका प्रमुख रविप्रकाश राईका अनुसार अनलाइन प्रणालीले नागरिकता सिफारिस तथा वितरण प्रक्रियामा पारदर्शिता, एकरूपता र समय बचत हुने भएकाले यो प्रणाली अनिवार्य रूपमा लागू गरिएको हो । यसबाट गाउँपालिकाको प्रशासनिक डिजिटलाइजेशनको अर्को चरण सुरु भएको उनको भनाइ छ ।

जिल्लाकै सानो, पाँच वडामा सीमित साकेला गाउँपालिकामा जन्म, मृत्यु, बसाइँसराइ, विवाहदर्ता, सम्बन्धविच्छेदलगायत सबै पञ्जीकरण कार्य पहिल्यैदेखि अनलाइनमार्फत हुँदै आएको छ । नयाँ प्रणाली कार्यान्वयनसँगै स्थानीय सेवाग्राहीले छिटो, पारदर्शी र झन्झटमुक्त सेवा प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन् ।