रोसिङ्टनको शतकमा पोखराले दियो २०२ रनको लक्ष्य

काठमाडौँ — इंग्लिस विकेटकिपर ब्याट्सम्यान एडम रोसिङ्टनले सानदार शतक बनाएपछि नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको विशाल लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित टियू स्टेडियममा जारी खेलमा पोखराले रोसिङ्टनको शतक मद्दतमा २ विकेटको क्षतिमा २०१ रन बनायो। यो एनपिएल इतिहासको दोस्रो २ सय माथिको रन हो। यसअघि जारी सिजन नै विराटनगर किंग्सले पोखराविरुद्ध नै २२० रन बनाएको थियो।

१८६ टि–२० खेलमा ३५ सय बढी रन बनाए पनि शतक बनाउन नसकेका उनले मंगलबार ५८ बलमा ११ चौका र ७ छक्का मद्दतमा नटआउट १०८ रन बनाए। यस्तै, अर्का इंग्लिस स्टार खेलाडी जासन रोएले ३४ बलमा २ चौका र ३ छक्का मद्दतमा ४६ रन बनाए। डेब्यू खेलमै उनले रोसिङ्टनसँग दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गरेका थिए।

यस्तै, श्रीलंकन अलराउन्डर धनन्जय लक्सनले ११ बलमा ३ चौका र १ छक्का मद्दतमा २३ रन बनाउँदा कप्तान कुशल भुर्तेलले १८ रन बनाए। लक्सनको यो डेब्यू खेल हो। बलिङमा कर्णालीका लागि नन्दन यादव र मार्क वाटले समान १ विकेट लिए। प्लेअफ आशा जिवित राख्न दुवै टिमलाई आजको खेल जित्नै पर्ने दबाब छ।