गुल्मी – रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल तीन वर्षदेखि अलपत्र अवस्थामा छ । हालसम्म भौतिक प्रगति ७५ प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत मात्र भएको सघन सहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ ।
सङ्घीय सरकारअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयबाट भ्याटसहित रु १४ करोड १७ लाख १३ हजार ९३७ लागतमा सुरु गरिएको यो परियोजना सदरमुकाम तम्घास नजिकै रेसुङ्गा–४ अर्खलेमा निर्माण भइरहेको हो । जिल्लाकै ठूलो र अत्याधुनिक सभाहलका रूपमा निर्माण भइरहेको यो संरचनाको काम विसं २०७९ कात्तिक २७ गते डिएनडी सत्तेश्वर–याकेट जेभीले लिएको थियो ।
निर्धारित समयमै काम पूरा नगरेकाले म्याद २०८२ चैत मसान्तसम्म थपिएको आयोजना कार्यालयका इञ्जिनियर घनश्याम यादवले जानकारी दिए । विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले निर्माणमा ढिलाइ भएको र अब निर्धारित मितिभित्र काम सक्न निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेको यादवले बताए ।
पाँच रोपनी क्षेत्रमा फैलिएको यो सभाहल दुई तलामा आधुनिक सुविधासहित निर्माण भइरहेको छ । भवन अग्नि नियन्त्रण, भूकम्प प्रतिरोधी प्रणाली, आधुनिक कोठा, गार्डेन, पार्किङ तथा दुई वटा हलसहित बन्नेछ ।
सभाहलमा १०८ जना क्षमताको बहुउद्देश्यीय हल र ४३२ जना क्षमताको मुख्य हल रहनेछ, जसअनुसार सभाहलको कुल क्षमता ५४० जनाको हुनेछ । हाल सजावट, फर्निचर व्यवस्थापन, गार्डेन तथा कम्पाउण्ड निर्माणको काम तीव्र गतिमा भइरहेको निर्माण व्यवसायी धनिश्वर गौतमले जानकारी दिए ।



