बागलुङ — जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। समयमा वर्षा हुनुका साथै जरा कुहिने रोगको प्रभाव न्यून देखिनु उत्पादन वृद्धिको मुख्य कारण बनेको केन्द्रकी सूचना अधिकारी प्रतिभा शर्माले बताए ।
गत वर्ष २० हजार मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष २० हजार ७८४.४ मेट्रिकटन धान उत्पादन भएको छ । अघिल्लो वर्ष रोग तथा ढिलो वर्षाका कारण उत्पादनमा ह्रास आएको भए पनि यस वर्ष किसानले उल्लेखनीय रूपमा राम्रो आम्दानी पाउने अपेक्षा राखेका छन् ।
बागलुङका किसानहरू खुमल ४, जेठो बुढो, लुम्ले २, झिनुवा, खुमल ११, खुमल बासमती १०, मार्सी, जडन तथा पछिल्लो समय आइब्रिड जातका धानखेती गर्दै आएका छन् । किसानले धानखेतीलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सिँचाइको अभाव रहेका धेरै स्थानहरूमा पनि उत्पादन नघटेको किसानहरूले बताएका छन्। गलकोट नगरपालिका–६ का किसान कृष्ण खत्री र जैमिनी नगरपालिका–७ का नरेन्द्र पौडेलले अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी धान उत्पादन भएको साझा अनुभव सुनाएका छन् ।
जिल्लामा ४६ हजार १४८ हेक्टर खेतीयोग्य जमिनमध्ये ३० हजार ५२३ हेक्टरमा मात्र खेती हुँदै आएको छ। त्यसमध्ये ६ हजार १४८ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा उपलब्ध छ ।



