पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरणहुँदा सेवाग्राहीलाई सहज

तनहुँ – यहाँका पालिकामार्फत चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पाँच हजार ३४० वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार यस अवधिमा १० पालिकामा १० हजार ५३६ वटा राष्ट्रिय परिचयपत्र पठाइएको थियो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा ६४ हजार ६८१ राष्ट्रिय परिचयपत्र पालिकामा पठाइएकामा १३ हजार ५५० मात्र वितरण भएको थियो ।

चालु आवको तीन महिनामा व्यास नगरपालिकाबाट १ हजार २६५, भानु नगरपालिकाबाट १ हजार ८५१ मध्ये १ हजार ७२३, भिमाद नगरपालिकाबाट ३२५ मध्ये २८, शुक्लागण्डकी नगरपालिकाबाट ५ हजार २०० मध्ये ३४८, ऋषिङ गाउँपालिकाबाट १ हजार ६६६ मध्ये १५१, म्याग्दे गाउँपालिकाबाट २६६, बन्दीपुर गाउँपालिकाबाट ६७९, घिरिङ गाउँपालिकाबाट १९७, आँबुखैरेनी गाउँपालिकाबाट १७६ र देवघाट गाउँपालिकाबाट ५०७ वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।

यसै अवधिमा जिल्ला प्रशासन कार्यालयमा दुई हजार ६५९ महिला र दुई हजार ७२९ पुरुष गरी पाँच हजार ३८८ जनाको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।

प्रशासन कार्यालयमा परिचयपत्र आए पनि सर्वसाधारण लिन नआउँदा थन्किने समस्या देखिएपछि स्थानीय तहसँग समन्वय गरी पालिकामार्फत वितरण सुरु गरिएको उनले बताए । “स्थानीय तहबाट वितरण गर्दा सेवाग्राहीलाई सहज हुन्छ,” प्रजिअ अधिकारीले भने ।