काठमाडौं – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको जिम्मेवारी सम्हालेपछि हालसम्म रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको बताएका छन् ।
काठमाडौँ महानगरपालिकाको ३१औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै प्रमुख शाहले महानगरको दीर्घकालीन लक्ष्य रु दुई खर्ब मूल्य बराबरको एक हजार ८५९ रोपनी सार्वजनिक अतिक्रमित जग्गा फिर्ता गर्नु रहेको जानकारी दिए ,।
प्रमुख शाहका अनुसार महानगरले हालसम्म रु ९१ करोड लागतमा सम्पदा संरक्षणका काम सम्पन्न गरेको छ भने दश केन्द्रलाई बिमाको प्रथम सेवा केन्द्रका रूपमा तोकिएको छ । यस्तै, रु पाँच अर्ब चार करोड लागतमा २५१ वटा योजना बोलपत्र प्रक्रियामार्फत खरिद गरिएको उनले जानकारी दिए ।
धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार सम्पन्न भएको उल्लेख गर्दै प्रमुख शाहले सहरी पूर्वाधार सुधारलाई प्राथमिकताका साथ अघि बढाइएको स्पष्ट पारे ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहित विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । स्थापना दिवसका अवसरमा विभिन्न वडाबाट सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो ।
काठमाडौँ महानगरपालिकाले प्रत्येक वर्ष मङ्सिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ ।



