काठमाडौँ महानगरले ‘नमूना हेरचाह सेवा केन्द्र’ सञ्चालन गर्ने

काठमाडौं – काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा विशेष हेरचाह आवश्यक पर्ने व्यक्तिहरूका लागि ‘नमूना हेरचाह सेवा केन्द्र’ सञ्चालन गर्ने योजना अघि सारेको छ । महानगरले भित्री सहरी क्षेत्रमा एउटा र बाहिरी सहरमा एउटा गरी दुईवटा केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो ।

केन्द्रबारे जानकारी दिँदै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यस प्रकारको हेरचाह सेवा महानगरका लागि नयाँ अभ्यास भएको बताईन् । “नयाँ काम सुरु गर्दा यसको प्रभावकारिता निरन्तर मूल्याङ्कन गर्दै जानुपर्छ,” उनले भने,“प्रारम्भ गरिएका केन्द्रहरूको प्रभावका आधारमा सेवा विस्तार गर्ने वा नगर्ने निर्णय हुनेछ ।”

उपप्रमुख डंगोलले आज यूएन वुमनका प्रतिनिधिहरूसँग हेरचाह तथा रेखदेख सेवासम्बन्धी विषयमा भएको छलफलका क्रममा उक्त जानकारी दिईन् ।

विश्वव्यापी रूपमा तीव्र सहरीकरण हुँदै जाँदा सामाजिक संरचनामा आएको परिवर्तनका कारण परिवारको साथ र सहयोग आवश्यक पर्ने समयमा धेरै व्यक्ति एक्लिन बाध्य भइरहेका छन् । यसले सिर्जना गर्ने सामाजिक समस्या न्यूनीकरण गर्न हेरचाह र रेखदेखसम्बन्धी सेवाको आवश्यकता बढ्दै गएको डंगोलको भनाइ छ ।

उनका अनुसार हेरचाह र रेखदेखसँग सम्बन्धित काम प्रत्यक्ष रूपमा महिलाको अवस्था, भूमिका र समस्यासँग जोडिने भएकाले यसले महिला अधिकार, सशक्तिकरण, सीप तथा दक्षता अभिवृद्धि जस्ता कार्यक्रमसँग सम्बन्ध गाँस्दछ । “यो सेवा रोजगारी र आयआर्जनसँग पनि जोडिने भएकाले महानगर यसप्रति उत्तरदायी भएर अघि बढिरहेको छ,” उनले बताए ।

छलफलका क्रममा सहरीकरणले सिर्जना गरेका अवस्थासँगै विद्यमान लैङ्गिक समता र समानताको स्थिति, सामाजिक सोच र त्यसको रूपान्तरणका सवालहरूमा समेत विचार–विमर्श गरिएको थियो ।

यस्तै, हेरचाह र रेखदेखमा निजी तथा सामुदायिक संघसंस्थाको भूमिका, लगानी र दायित्व, केयर इकोनोमी (हेरचाह अर्थतन्त्र) देखि केयर सिस्टम (हेरचाह प्रणाली) सम्मको चक्र, साथै केयर इन्टरप्रेनरसिप (हेरचाह उद्यमशीलता)लाई नमूना कार्यक्रमका रूपमा अघि बढाउने सम्भावनाबारे पनि छलफल भएको थियो ।

महानगरले यी छलफल र प्राप्त पृष्ठपोषणका आधारमा सहरी हेरचाह सेवाको दिगो मोडेल विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।