नुवाकोट — निरन्तर परेको वर्षातले धान भित्र्याउने समयमा ठूलो क्षति भोगेका किसानलाई शिवपुरी गाउँपालिकाले नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
गत कात्तिक ११ गतेदेखि लगातार परेको वर्षाका कारण धानबालीमा क्षति पुगेपछि गाउँपालिकाले प्रभावित किसानलाई प्रत्यक्ष राहत दिने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाका अनुसार किसानको क्षतिको मूल्याङ्कनपछि गाउँ कार्यपालिकाबाट राहतस्वरूप नगद वितरण गर्ने निर्णय गरिएको हो ।
पालिकाले प्रत्येक किसान परिवारलाई रु तीन हजार उपलब्ध गराउने र त्यससँगै क्षति पुगेको खेतको प्रतिरोपनी रु २०० का दरले थप रकम दिने व्यवस्था गरेको छ । गाउँपालिकाको कृषि प्राविधिक टोलीले सङ्कलन गरेको विवरणअनुसार शिवपुरी गाउँपालिकामा ४७५ किसान परिवारको दुई हजार ७२३ रोपनी खेतमा लगाइएको धानबालीमा क्षति पुगेको छ ।
“धान किसानको मुख्य आम्दानीको स्रोत हो । भित्र्याउने बेलामा भएको वर्षाले ठूलो असर पारेकाले नगद राहतमार्फत केही भए पनि राहत दिने उद्देश्यले यो निर्णय गरिएको हो,” अध्यक्ष थपलियाले बताए । उनका अनुसार प्रदेश तथा सङ्घीय सरकारबाट सहयोग नआएकाले पालिकाको विपद् व्यवस्थापन कोषबाटै राहत रकम उपलब्ध गराउन लागिएको हो ।
पालिकाका उपाध्यक्ष वीरबहादुर तामाङका अनुसार ४७५ किसान परिवारलाई प्रतिघर रु तीन हजार वितरण गर्दा रु १४ लाख २५ हजार खर्च हुने छ । त्यस्तै, क्षति पुगेको कुल क्षेत्रफलका आधारमा प्रतिरोपनी रु २०० का दरले थप रु पाँच लाख ४४ हजार ६०० आवश्यक पर्नेछ ।
यसरी किसानलाई राहत वितरण गर्न कुल रु १९ लाख ६९ हजार ६०० बजेट आवश्यक पर्ने जनाइएको छ । विपद् व्यवस्थापन कोषमा मौजुदा रु १५ लाख तथा बाँकी आवश्यक स्रोत व्यवस्थापन भइसकेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले धानबालीमा क्षति बेहोरेका किसानलाई नगद बुझ्नका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । राहत वितरण प्रक्रिया चाँडै सुरु गरिने जनाइएको छ ।



