खोटाङ — खोटाङ जिल्लाका दुई प्रमुख स्थानमा अस्थायी बेलिब्रिज जडान गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले ठेक्का प्रक्रिया अघि बढाएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगरले सवारी आवागमन सहज बनाउन बेलिब्रिज जडानको पहल थालेको हो ।
खोटाङ र उदयपुरलाई जोड्ने सुनकोशी नदीको बतासेघाट तथा खोटेहाङ गाउँपालिका र बराहपोखरी गाउँपालिका जोड्ने सावाखोलामा बेलिब्रिज जडान गरिने भएको छ । यससँगै वर्षायाममा समेत सुरक्षित रूपमा आवतजावत हुने अपेक्षा गरिएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र उदयपुरको लिम्चुबुङ गाउँपालिका–१ बाँस्बोटेबीच पर्ने सुनकोशीमा बेलिब्रिज जडान हुने खबरपछि स्थानीयवासी उत्साहित भएका छन् । यस्तै, खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित भोर्मा जोड्ने सावाखोलामा पनि प्रदेशकै लगानीमा बेलिब्रिज निर्माण हुने भएको हो ।
कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी साधन वारपारका लागि आवश्यक अस्थायी पुल निर्माणका लागि ठेक्का आह्वान गरेको मन्त्री भूपेन्द्र राईका स्वकीय सचिव बाजिन्द्र विष्टले जानकारी दिए । उनका अनुसार खोटाङका दुई स्थानसहित इलाम जिल्लाको फेवाखोलामा माङ्सेबुङ गाउँपालिका–१ र २ जोड्ने गरी कुल तीन स्थानमा बेलिब्रिज जडान गरिनेछ ।
सुनकोशीमा बेलिब्रिज सञ्चालनमा आएपछि हलेसी क्षेत्रको धार्मिक तथा पर्यटकीय गतिविधिमा थप गति आउने अपेक्षा गरिएको छ । पुल बनेपछि खोटाङतर्फ सुनकोशी किनारमा बसोबास गर्ने नागरिकलाई तराईका विभिन्न स्थानसम्म पुग्न सजिलो हुने तथा दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत राहत पुग्ने दुर्छिमका वडाध्यक्ष रूपेन्द्रकुमार राईले बताए ।
स्थानीयस्तरमा लामो समयदेखि पुलको माग हुँदै आएको भन्दै बेलिब्रिज जडानले आवागमन, व्यापार र सामाजिक सम्पर्क विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।



