स्याङ्जा – पछिल्ला वर्षहरूमा गाउँ तथा सहर दुवैतर्फ पक्की घर निर्माणको क्रम तीव्र बन्दै गएको छ । केही वर्षअघिसम्म सहर बजारमा मात्र सीमित आधुनिक पक्की घर निर्माण अहिले गाउँ–गाउँसम्म विस्तार हुँदै जाँदा पुराना परम्परागत घरहरू लोप हुने अवस्थामा पुगेका छन् ।
यस्तै लोपोन्मुख वस्तु, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले वालिङ उद्योग वाणिज्य सङ्घले महोत्सवस्थलमा परम्परागत ‘कुडुले’ (घुमाउने) गोल घर निर्माण गरेको छ । वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठका अनुसार पछिल्लो पुस्तालाई परम्परागत घर र ग्रामीण जीवनशैलीबारे जानकारी दिन गोल घर निर्माण गरिएको हो ।
“पुरानो पुस्ता गोल घरबारे जानकार हुनुहुन्छ, कतिपय त त्यसमै बस्नुभएको पनि छ,” अध्यक्ष श्रेष्ठले भने, “तर समयको विकास र आधुनिकतासँगै नयाँ पुस्ताले यसप्रकारका घर देख्न पाएका छैनन् । हाम्रो मौलिक परम्परा, कला र संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई जानकारी दिन गोल घर निर्माण गरेका हौँ ।”
बाँस, खर, काठ र माटो प्रयोग गरी निर्माण गरिएको उक्त गोल घर नवौँ वालिङ महोत्सवको मुख्य आकर्षणको रूपमा रहनेछ । खरले छाएका घरहरू हराउँदै गएका बेला पुरानो गाउँले परिवेश झल्काउने उद्देश्यले गोल घर निर्माण गरिएको श्रेष्ठले बताए ।
वालिङ उद्योग वाणिज्य सङ्घका सहकोषाध्यक्ष तथा गोल घर निर्माण उपसमितिका संयोजक केशव पराजुलीका अनुसार गाउँघरबाट हराउँदै गएको गोल घरको अवलोकन गर्न दर्शकहरूलाई अवसर दिने उद्देश्यले महोत्सवस्थलमै निर्माण गरिएको हो । खरले छाएको उक्त गोल घर दुई तले रहेको छ । घरको छानो र पाली पूरै खरले छाइएको छ ।
“कुडुले घरभित्र पुरानो पुस्ताले प्रयोग गर्दै आएका सामग्री राखिनेछ,” पराजुलीले भने,“घरभित्र जातो, ढिकी, हलो–जुवा, ठेको, छानामा फर्सी, कुभिण्डोलगायत पुरानो जीवनशैली झल्काउने सामग्री राखेर सजाइनेछ ।”
घरको भित्तो रातो र सेतो माटोले लिपेर आकर्षक बनाइएको छ भने घरभित्र, पिँढी तथा आँगन गोबर माटोले लिपिएको छ । वालिङ उद्योग वाणिज्य सङ्घले महोत्सवका लागि निर्माण गरिएको गोल घरलाई महोत्सवपछि पनि संरक्षण गरेर राख्ने जनाएको छ ।
विसं २०६३ देखि प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको वालिङ महोत्सवको यो नवौँ संस्करण माघ १४ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।



