काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेकी छन् आज बिहान प्रधानमन्त्री कार्कीले नेपाली सेनाका अधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको टोलीसहित द्रुतमार्ग क्षेत्रको स्थलगत निरीक्षण गरेकी हुन् ।
निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी लिँदै कामलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिईन् । आवश्यक सहयोग र सहजीकरण सरकारका तर्फबाट उपलब्ध गराइने उनले स्पष्ट पारिन् ।
काठमाडौं–तराई द्रुतमार्ग राष्ट्रिय गौरवको आयोजना हो । काठमाडौं उपत्यकालाई बाराको निजगढसँग जोड्ने करिब ७१ किलोमिटर लामो यो मार्गलाई छोटो दूरी र रणनीतिक महत्त्वका कारण अत्यन्त महत्वपूर्ण मानिन्छ ।
द्रुतमार्गको निर्माण नेपाली सेनाको व्यवस्थापन र निगरानीमा भइरहेको छ । आयोजनालाई २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिइए पनि नीतिगत जटिलता, भौगोलिक कठिनाइ तथा जग्गा अधिग्रहणलगायतका समस्याका कारण निर्माण कार्य प्रभावित हुँदै आएको छ ।
आयोजना कार्यालयका अनुसार २०८२ असार मसान्तसम्म द्रुतमार्गको समष्टिगत भौतिक प्रगति ४२ दशमलव १३ प्रतिशत पुगेको छ ।



