पर्वतबाट ३२ करोडभन्दा बढीको सुन्तला निर्यात

काठमाडौं – यस वर्ष पर्वत जिल्लाबाट रु ३२ करोड पाँच लाख मूल्य बराबरको सुन्तला निर्यात भएको छ । जिल्लाका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट कृषकले उल्लेखनीय आम्दानी गर्न सफल भएका कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष जिल्लामा तीन हजार ४२१ मेट्रिकटन सुन्तला उत्पादन भई बाह्य बजारमा पठाइएको हो । कृषकले प्रतिकिलोग्राम रु ९५ देखि रु १२० सम्मको मूल्य बोटबाटै पाएका छन् ।

जिल्लाकै सबैभन्दा बढी सुन्तला उत्पादन हुने क्षेत्र बाँसखर्कबाट मात्र करिब रु २० करोड बराबरको सुन्तला निर्यात भएको छ । यसका साथै मल्लाजको पूर्णगाउँ, रातमाटा, शालिजा, भोटेडाँडा, मोदी गाउँपालिकाको देउपुर, बाजुङ, चित्रे तथा फलेवास नगरपालिकाका कुर्घा, पाङराङ, ठानामौला, लिमिठाना लगायत क्षेत्रबाट पनि सुन्तला अन्यत्र पठाइएको हो ।

कृषि विकास कार्यालयकी सूचना अधिकारी सोविता सुवेदीका अनुसार चालु आर्थिक वर्षमा सुन्तला उत्पादन राम्रो हुनुका साथै बजार मूल्य पनि उत्साहजनक रहेको छ । व्यावसायिक सुन्तलाखेती गर्ने किसान मूल्य राम्रो पाउँदा हर्षित बनेका छन् ।

गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार भएपछि काठमाडौं, पोखरा, नारायणगढलगायत स्थानबाट व्यापारी बगानमै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । कतिपय किसानले आफैँ काठमाडौँ र बुटवलका बजारमा सुन्तला पु¥याएर बिक्री गर्न थालेका छन् ।

फलेवास नगरपालिका–११ का कृषक रामप्रसाद गौतमले एउटै टोलबाट रु एक करोडदेखि रु डेढ करोडसम्मको सुन्तला बिक्री गर्न सफल भएको बताए । सुन्तला कृषकलाई प्रोत्साहन गर्न प्रदेश सरकार र स्थानीय तहबाट तालिम, प्राविधिक सहयोग तथा विषादी वितरणजस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सञ्चालनमा आएसँगै सुन्तलाको बजारीकरण झनै सहज भएको छ । अनुकूल हावापानीका कारण माघको अन्तिम सातासम्म बोटमै सुन्तला रहने भएकाले पनि कृषकले राम्रो मूल्य पाउने गरेका छन् ।

हाल जिल्लामा ४०० भन्दा बढी किसानले ८३३ हेक्टर क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन्। पछिल्ला वर्षहरूमा सुन्तलाखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।