दलका घोषणापत्रमा आर्थिक एजेन्डाहरु प्राथमिकतामा परेन : अध्यक्ष ढकाल

काठमाडौँ, – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयले अपेक्षित प्राथमिकता पाउन नसकेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार सङ्घले आज काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा अध्यक्ष ढकालले दलहरू आफ्नो नीति तथा कार्यक्रम (एजेन्डा) प्रस्तुत गरेर जनतामाझ जानुपर्नेमा अन्य दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

महासङ्घका अनुसार अध्यक्ष ढकालले हालसम्म कुनै पनि राजनीतिक दलका घोषणापत्रमा निजी क्षेत्र र आर्थिक विषय प्राथमिकतामा नपरेको उल्लेख गरे । उनका अनुसार देशको आर्थिक विकास, रोजगारी सिर्जना र लगानी विस्तारका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण भए पनि घोषणापत्रमा त्यसको स्पष्ट प्रतिबिम्ब देखिँदैन ।

“दल आफ्ना एजेन्डामार्फत जनतामाझ जानुपर्नेमा निजी क्षेत्र, आर्थिक विषयलगायत विषयले प्राथमिकता पाउन सकेका छैनन्,” अध्यक्ष ढकालले भने, ।

निजी क्षेत्रको योगदानको उचित चर्चा नभएको गुनासो

अध्यक्ष ढकालले निजी क्षेत्रले राज्य र अर्थतन्त्रमा पु-याएको योगदानको चर्चा राजनीतिक नेतृत्व तथा दलहरूबाट हुन नसकेकोप्रति पनि चिन्ता व्यक्त गरे । उनका अनुसार निजी क्षेत्रको लगानी, उत्पादन, व्यापार तथा रोजगारी सिर्जनाले अर्थतन्त्रलाई चलायमान बनाउने भएकाले राज्यले यसलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने हुन्छ ।

“निजी क्षेत्रलाई राज्यले प्रोत्साहन र संरक्षण नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन सक्दैन,” उनले धारणा राखे ।

कार्यक्रममा सहभागीहरूले दलका घोषणापत्रमा आर्थिक एजेन्डा स्पष्ट, कार्यान्वयनयोग्य र परिणाममुखी हुनुपर्नेमा जोड दिएका थिए ।